काठमाडौं १० जेष्ठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ ।
आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट एक जना प्रतिनिधि छानिने छन् ।
अनेरास्ववियुले जेठ १४ गतेसम्म सबै प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताएको छ । त्यसको लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित ३ जना प्रतिनिधि छानिने छन् । २१ सिटे स्ववियुमा अनेरास्वबियले बहुमत जितेको क्याम्पसमामा ३ जना प्रतिनिधी छानिनेछन ।
‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । २४ औँ महाधिवेशन अनेरास्ववियुको विचार, संगठन र संघर्षको नयाँ दिशातर्फको यात्रा भएको संगठनका प्रवक्ता प्रकाश पौडेलले बताउनुभयो ।
प्रतिनिधि छनोटको प्रक्रिया पूर्ण लोकतान्त्रिक, पारदर्शी र संगठनात्मक विधिअनुसार सञ्चालन हुने उहाँले बताउनुभयो । संगठनका सम्पूर्ण कार्यकर्ता, विद्यार्थीहरू तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न अनेरास्ववियुले अपिल गरेको छ ।