Flash News

एकीकृत समाजवादीका बेदुराम र प्रकाश ज्वाला मन्त्री बन्दै

१६ चैत्र २०७९, बिहीबार ०६:०१

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का दुई जना नेता मन्त्री बन्ने भएका छन्।

पार्टीका उपाध्यक्ष डा. बेदुराम भुसाल शिक्षा मन्त्री र उपमहासचिव प्रकाश ज्वाला भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका हुन्।

शक्ता गठबन्धनबाट आज मात्रै नयाँ मन्त्रीहरूले सपथ लिदैछन्। सल्यानबाट प्रतिनिधि सभामा निर्वाचित सांसद ज्वाला कर्णालीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागि हुँदैछन्।

राष्ट्रियसभा सदस्य समेत रहेका डा.भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन्। भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन्।

माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। गठबन्धन दलहरुबीच मन्त्रालय संख्या टुंगिएसँगै प्रधानमन्त्रीले आज दिउँसो मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्।

सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने स्रोतले बतायो। सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाउने भएको छ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान–रक्षा मन्त्रालयको जिम्मेवारीसहित सरकारको नेतृत्व गर्ने भएका छन्। अर्थमा भने प्रकाशशरण महत जांदैछन्।

परराष्ट्र र स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले लिने भएको छ। यद्यपि यी दुई मन्त्रालयको जिम्मेवारी कसले लिने भन्नेबारेमा कांग्रेसभित्र निर्णय भइसकेको छैन। कांग्रेसले आज बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सो बैठकले नयाँ मन्त्रीहरूको नामावली टुंगो लगाउँदैछ।

त्यस्तै, भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुँदैछ। प्रधानमन्त्री प्रचण्डले उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।

ऊर्जा मन्त्रालय माओवादीको भागमा परेको छ। त्यसमा शक्ति बस्नेतलाई पठाउने तयारी भइरहेको स्रोतले जानकारी दियो। २ वटा मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको जसपाले शहरी विकास मन्त्रालय पाउने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्