Flash News

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास

१६ चैत्र २०७९, बिहीबार ०६:१९

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको आज शिलान्यास गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन बिहान चितवन आएका थिए।

उनी रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा पनि सहभागी छन्। चितवनका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन भ्याट बाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण गरिँदै छ । निर्माणको ठेक्का केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले पाएको छ । निर्माण सम्झौता २०७९ चैत ६ गते भएको थियो । टर्मिनल भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुरसहित विराटनगर र नेपालगञ्जमा पनि चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको थियो । ती विमानस्थलहरुमा ५० वर्षभन्दा बढी पुराना टर्मिनल भवन छन् । यात्रुको चाप बढ्दा विमानस्थल साँघुरो भएकाले व्यावसायिक गतिविधिसमेत हुने गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । अब बन्ने भवन अत्याधुनिक ‘कन्भेयर बेल्ट’सहितका हुनेछन् ।

भरतपुरमा ७ हजार ७४९ वर्गमिटर क्षेत्रफलमा अत्याधुनिक टर्मिनल भवन बनाउने योजना छ । विमानस्थलको धावनमार्ग विस्तार हुँदासमेत काम गर्ने गरी टर्मिनल भवन बनाउन लागिएको प्राधिकरणले जनाएको छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्रलाई स्थानान्तरण गरी भरतपुर विमानस्थलको धावन मार्ग विस्तार गर्ने योजना छ ।

धावनमार्ग विस्तार भएमा ठूला जहाज उडान गर्न सकिने र रात्रिकालीन उडानसमेत हुने अधिकारीहरु बताउँछन् । हाल धावनमार्गको उडान र अवतरण हुने क्षेत्रमा अग्ला घर भएका र धावनमार्ग पनि विस्तार नहुँदा साना जहाजहरुले मात्रै सेवा दिंदै आएका छन् । भरतपुरबाट काठमाडौं, पोखरा र भैरहवा उडान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्