Flash News

कांग्रेस, माओवादी र समाजवादीले उपेन्द्र यादवलाई सघाउने

२० चैत्र २०७९, सोमबार ०१:१२

काठमाडौँ। नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो । बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । तर कांग्रेसले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको छ । त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्दैछन् ।

लोसपाबाट राजेन्द्र महतो र जनमतबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउने छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार तनुहँ १ र चितवन २ मा आफ्नो उम्मेदवार उठाएको कांग्रेसले बारा–२ मा जसपालाई समर्थन गरेको छ ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले चितवन–२ मा जीतनारायण श्रेष्ठ र तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । चितवन–२ र तनहुँ– १ मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा लगायतका दलको समर्थन रहने कांग्रेसले विश्वासको व्यक्त गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले पनि बारा–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष यादवलाई नै सघाउने निर्णय गरेको छ ।

चितवन–२ र तनहुँ–१ मा भने माओवादीले आफ्नै उम्मेदवार उठाउने तयारी गरे पनि ठोस निर्णय भइसकेको छैन । ती क्षेत्रमा सत्तारुढ गठबन्धनबाटै साझा उम्मेदवार बनाउने सम्भावनालाई ध्यानमा राखेर माओवादी केन्द्रले तत्काल उम्मेदवारीबारे ठोस निर्णय नगरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्