Flash News

वैशाखदेखि जोमसोममा बियरको बोतल प्रयोग गर्न नपाइने

२० चैत्र २०७९, सोमबार १४:१५

काठमाडौं। मुस्ताङको घरपझोङ गाउँपालिकाले बियरको बोतल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।

१ वैशाख २०८० देखि बियरको सिसाको बोतल प्रयोग निषेध गर्ने निर्णय भएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । बियरको सिसाको बोतल व्यवस्थापनमा समस्या भएकोले प्रयोग निषेध गर्ने निर्ण भएको सूचनामा उल्लेख छ ।

घरपझोङ गाउँपालिकामा मुस्ताङको साविकका मार्फा, टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समिति समावेश छन्  गाउँपालिका भित्र रहेका होटल, पसल, घुम्न आउने पर्यटक र स्थानीयलाई बियरको सिसाको बोतलहरु प्रयोग नगर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

गाउँपालिका अध्यक्ष मोहन सिं लालचनका अनुसार बियरको सिसाको बोतल गाउँपालिकाबाट कवाडीमा पनि बिक्री नहुने, पुनः प्रयोग गर्न पनि नसक्ने भएकोले व्यवस्थापन नहुँदा फोहोर बढेको छ । ‘हाम्रो यहाँबाट ढुवानी धेरै महँगो पर्ने भएकोले सिसाको बोतल कवाडी मार्फत पनि गएको छैन, ल्याण्डफिल साइटमा पनि राख्ने कुरो भएन । क्यान बियर भने प्रयोग गर्न सकिने छ’ लालचनले अनलाइनखबरसँग भने ।

स्थानीय र पर्यटकहरुले बियर बाहेक अन्य मदिरा प्रयोग गर्दा भने सिसाकै बोतल प्रयोग गर्न सक्ने छन् । बियर क्यानमा पनि पाइने हुँदा बोतल प्रयोगमा रोक लगाइएको उनले बताए ।

नकुहिने फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण भइरहेको र पुनः प्रयोग गर्न सक्ने फोहोरलाई कवाडी मार्फत बेच्ने तयारी भइरहेको अध्यक्ष लालचनले बताए । लालचनका अनुसार घरपझोङमा उत्पादन हुने स्थानीय मार्फा लगायतका अधिकांश मदिरा भने देशबाहिर निर्यात हुने गरेको छ ।

हेर्नुहोस् सूचनाः

प्रतिक्रिया दिनुहोस्