काठमाडौं । साउन २ गते प्रारम्भ भएको नेकपा (एमाले) पोलिटब्युरोको चौथो बैठक व्यापक छ्लफल एवम् विचार विमर्श सहित ३ गते सफलतापूर्वक सम्पन्न भयो । बैठकमा सचिवालयको तर्फबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावलाई समर्थन गर्दै स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदृेश कमिटीका इन्चार्ज गोरख ब. बोगटी सहितका ६६ जना सदस्यहरुले सुझावहरु प्रस्तुत गरेर पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्ने दृढ संकल्प गरिएको छ । साथै सचिवालयको तर्फबाट प्रस्तुत विधान संशोधन प्रस्तावलाई बैठकले सर्वसम्मतरूपमा स्वीकृत गरेको छ । उक्त प्रस्तावलाई यही साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि पेश गर्ने निर्णय गरेको छ।

बैठकको अध्यक्ष तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैठक समापनको मन्तव्य प्रस्तुत गर्ने सिलसिलामा पार्टी जीवनको लोकतान्त्रीकरणलाई समग्रतामा कसरी बुझ्नुपर्छ भन्ने विषय स्पष्ट पार्दै पार्टी माथि भैरहेको चौतर्फी हमला एवम् गलत प्रचारलाई आ-आफ्नो ठाउँबाट प्रतिकार गरेर पार्टीलाई थप भावनात्मक एकताबद्ध तथा प्रभावकारी बनाउनका लागि दृढ संकल्पित भएर लाग्न निर्देशन पनि गर्नुभएको छ ।
पोलिटब्युरो बैठकको यो सुखद सन्देशबाट नेकपा(एमाले) का आम कार्यकर्तालाई थप हौसला प्रदान भएको छ भने बजारमा फैलाइएका विभिन्न भ्रामक प्रचारलाई गलत सावित गरिदिएको कुरा स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदृेश कमिटीका इन्चार्ज गोरख ब. बोगटीले हिमालय प्रेसलाई जानकारी दिनु भएको छ ।