Flash News

विचार मिल्नेसँग पार्टी एकता गर्छौं: अध्यक्ष नेपाल

२२ चैत्र २०७९, बुधबार १०:३२

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्नेसँग पार्टी एकता गर्न सकिने तर कसैसँग विलय नहुने बताएका छन् ।

बुधबार पार्टी प्रचार विभागले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले आफूहरु कम्युनिस्ट शक्तिहरु एकताबद्ध बनाउनुपर्ने पक्षमा नै रहेको बताए ।

उनले संविधान, संघीयता, गणतन्त्र र सुशासनको पक्षमा विचार मिल्ने र कम्युनिस्ट शक्ति एक बनाउने विषयमा आफूले कहिल्यै अस्वीकार नगरेको दाबी समेत गरे ।

‘सबै कम्युनिस्ट शक्तिहरु एकताबद्ध हुन्, सही कम्युनिस्टका रुपमा अघि बढुन्, त्यस्ताहरुसँग हामी पार्टीगत एकता गर्न पनि चाहान्छौं । तर हाम्रो पार्टी कुनै पार्टीमा विलय भएर समाप्त हुनेवाला छैन’, अध्यक्ष नेपालको भनाइ छ । उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ चरणबाट अघि बढाएको भन्दै त्यसको महत्त्व हिजो केही होइन भन्नेहरुले अहिले बिस्तारै बुझ्न थालेको पनि बताए ।

 ‘हिजो केही होइन भन्नेले पनि लेखाजोखा राखेका छन्, यो खुसीको कुरा हो’ विचार र भावनामा एकता हुने भयो भने मिलेर नजाने कुरै छैन । हामी कसैलाई बहिस्कृत गर्ने पक्षमा छैनौ’, नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने, संविधान गणतन्त्र र संघीयता, भ्रष्टाचारविरुद्धमा बारेमा मिलेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै जनताका पक्षमा काम गर्न हातेमालो गर्दै अघि बढ्न चाहेको बताए ।

 ‘कसैकसैले हामीलाई कम्युनिस्ट शक्ति नमानेर व्यङ्ग्य गरेका छन् । उनीहरूको खुट्टी देखेका छौं । प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गर्नेहरुले हामीमाथि औलो ठड्याउने कुनै अधिकार रहेको छैन’, अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्