उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुस कुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त गरेको छ।
मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्रअनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको हो ।
यो नियुक्ति २०८२ साउन १३ गतेको मन्त्री स्तरीय निर्णयअनुसार गरिएको हो ।
विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार, निजी क्षेत्रको सक्रियता, नीति निर्माणमा समन्वय, र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउन बोर्ड अफ ट्रेडको भूमिकालाई महत्वपूर्ण आधारको रूपमा लिइएको छ । यसै सन्दर्भमा तीनजना अनुभवी निजी क्षेत्रका प्रतिनिधिहरूको मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।
बोर्ड अफ ट्रेड नेपालको व्यापार नीतिको कार्यान्वयन, नीति सिफारिस, समन्वय र सहजीकरणका लागि प्रमुख संस्थागत संयन्त्र हो । उक्त बोर्डले नीति निर्माणमा सरकारलाई सघाउने, निजी क्षेत्रका चुनौतीहरू पहिचान गर्ने, समाधान सुझाउने र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मुद्दामा मार्गदर्शन दिने जिम्मेवारी लिन्छ ।
नियुक्त भएका सदस्यहरूबाट मन्त्रालयले व्यापार क्षेत्रका विविध मुद्दामा गहकिला सुझाव र सशक्त सहभागिताको अपेक्षा राखेको छ । मन्त्री दामोदर भण्डारीको नेतृत्वमा मन्त्रालयले नीति निर्मातासँग सिधा सरोकारवालाहरूको सहभागिता विस्तार गर्दै नीतिगत निर्णय प्रक्रियालाई समावेशी, उत्तरदायी र परिणाममुखी बनाउन अग्रसरता देखाउँदै आएको छ ।
यस नियुक्तिसँगै जोशी, राणा र श्रेष्ठले नेपालकै व्यापार नीति तथा रणनीतिलाई सशक्त रूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने काममा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।