Flash News

न्यूनतम साझा कार्यक्रमप्रति समर्थन छैन: चित्रबहादुर केसी

२४ चैत्र २०७९, शुक्रबार ११:५२

बुटवल। सत्तारुढ दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति आफ्नो दलको समर्थन नरहेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले आफू चितवनमा भएका बेला फोनमा कुराकानी हुँदा आफूले न्यूनतम साझा कार्यक्रममा केही राम्रा कुरा पनि छन् मात्र भनेको तर पूरै समर्थन रहेको जसरी आफ्नो हस्ताक्षर प्रयोग गरिएकोमा उनले असन्तुष्टि जनाए ।

शुक्रबार बुटवलमा पार्टी निकट प्रगतिशील पत्रकार संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष केसीले आफूले केही कुरा राम्रा छन् भनेकोमा प्रधानमन्त्रीलाई समर्थन गरेको भ्रम भएको टिप्पणी गरे ।

‘उपनिर्वाचनको सिलसिलामा म हिजो चितवन भएका बेला प्रधानमन्त्रीको फोन आएको थियो, न्यूनतम साझा कार्यक्रमबारे कुरा हुँदा मैले केही कुरा ठीक भनेको मात्रै हुँ’ केसीले भने, ‘मेरो कुराले प्रधानमन्त्रीलाई सर्लक्कै मान्यो भन्ने भ्रम भएछ र सिग्नेचर राख्दिनुभएछ, मेरो सिग्नेचर चोरी भयो त भन्दिनँ, सिग्नेचर सिंहदरबारमै हुन्छ ।’

न्यूनतम साझा कार्यक्रममा संघीयता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयक र नागरिकताको विषयमा आफ्नो दलको प्रष्ट विमति रहेको केसीले बताए ।

‘अहिले संघीयता सबैलाई घाँडो भएको छ, हामीले त सुरुदेखि नै प्रदेश संरचनाको संघीयता स्वीकार गरेका छैनौं, तर न्यूनतम साझा कार्यक्रममा ठाउँठाउँमा संघीयता उल्लेख छ, त्यस्तो कुरामा कसरी समर्थन हुन्छ रु’ केसीले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयक जसरी फास्ट ट्रयाकबाट टुंग्याउन खोजिएको छ, त्यो पनि ठीक छैन, हाम्रो विमति छ ।’

केसीले अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विषय पनि आफ्नो दलले स्वीकार नगर्ने बताए ।

लोकतन्त्र र गणतन्त्र ल्याउन लडेका दलहरु दलगत र निजी स्वार्थमा लागेर न्यायपालिका, अख्तियार, संवैधानिक निकाय सबैतिर सेटिङ गरेर संसदीय व्यवस्थालाई विकृत बनाएकाले जनतामा व्यापक घृणा र वितृष्णा बढेको केसीले उल्लेख गरे ।

नयाँ भनिएका शक्तिहरु विदेशी शक्ति राष्ट्रको एजेण्डामा हिंडेर लोकतन्त्र र गणतन्त्रमाथि चुनौती थपेको केसीले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्