सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको छैटौं बैठक आज सुर्खेत वीरेन्द्रनगर स्थित पार्टी कार्यालयको हलमा बिबिध निर्णय गर्दै सम्पन्न भएको थियो ।
बैठक नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश कमिटी ईन्चार्ज गोरख ब. बोगटीको प्रमुख आतिथ्यतामा र कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बैठकमा पार्टी केन्द्रबाट सम्प्रेषित अपानी-१२ प्रदेश सचीव ध्रुव शाहीले बाचन गर्नु भएको थियो ।
नेकपा एमाले केन्द्रबाट तयार पारेर आएको पार्टी विधान संशोधन प्रस्तावका मुख्य बिषयहरुको बारेमा प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले कमिटीलाई जानकारी गराउनु भएको थियो । सोही क्रममा इन्चार्जले अपानी – १२ लाई कार्यान्वयन गर्न गराउन र पार्टी निर्णयको पक्षमा दृढतापुर्वक उभिन प्रदेश कमिटीका पदाधिकारी एवम् सदस्यहरुलाइ निर्देशन गर्नुभएको थियो । अब आयोजना गरिने जिल्ला र पालिकाका बैठकहरुमा सम्बन्धित कमिटीका इन्चार्जहरु अनिवार्य उपस्थित हुनका लागि पनि निर्देशन गर्नुभएको थियो ।
बैठकमा पार्टी केन्द्रबाट सम्प्रेषित अपानी-१२ कर्णाली प्रदेश कमिटी सचीव ध्रुव शाहीले बाचन गरी सके पछी बैठकमा उपस्थित कमिटीका सदस्यहरू मध्ये २० जना सदस्यहरुले विधान संशोधन सम्बन्धि आफ्ना सुझाव राख्नु भएको थियो ।
बैठकमा लेखा कमिटीका अध्यक्ष जीतबहादुर मल्लले समग्र प्रदेशको लेखा परीक्षण तथा लेखा ब्यवस्थापन र कोष तथा बित्त ब्यबस्थापन बिभाग प्रमुख टेकराज पछाइले आ.ब. २०८२/०८३ को अनुमानित आय तथा ब्यय सम्बन्धि जानकारी गराउनु भएको थियो ।
बैठकमा साउन मसान्तभित्र जिल्ला र पालिकाका बैठक आयोजना गरेर विधान संशोधन सम्बन्धि प्रस्तावमा आधारित भएर सुझाव तयार पारी भाद्र ५ गतेभित्र प्रदेशमा पठाउने, प्रदेशले आएका सुझावहरुलाई ब्यबस्थित गरेर भाद्र १० भित्र केन्द्रमा पठाउने भन्ने निर्णय भएको छ । साथै अधिबेशन गर्न बाकि रहेका पालिका र वडाका अधिबेशन अबिलम्व सम्पन्न गर्ने, अधिबेशनको समयावधि पुगेका जिल्ला र प्रदेश स्तरका जनसंगठनका अधिबेशनहरु अशोज भित्र सम्पन्न गर्न निर्देशन गर्ने निर्णय भएको थियो।