राजविराज । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् ।
मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए ।
यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम यादवलाई जम्मा ९ मतले पराजित गर्दै विजय हासिल गरेका छन् ।
जिल्ला सचिवमा निरज मुक्तिले जम्मा १ मतले निर्वाचित भएका छन् । त्यस्तै, उपसचिवमा रिता चौधरी र रामेश्वर यादव विजयी भएका छन् भने कोषाध्यक्षमा अमरेन्द्र यादव निर्वाचित भएका छन् ।
श्रावन १४ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उदघाटन गरेसँगै सुरु भएको जिल्ला अधिवेशनले निर्वाचन प्रक्रियाबाट मंगलबार बिहान जिल्ला पदाधिकारीको टुंगो लगाएको छ । जिल्ला कार्यसमितिका सदस्यहरुको निर्वाचन सम्पन्न भएपनि आज दिउसोदेखि उनीहरुको मतगणना सुरु हुने बताइएको छ ।