काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता गर्ने भन्दै माओवादीले हावामा तिर हानेको निष्कर्ष निकालेको छ ।
नेकपाको अनौपचारिक स्थायी कमिटीको बैठकले सो निर्णय निकालेको हो । बैठकले विप्लवकै नेतृत्वमा अघि बढ्ने समेत निष्कर्ष निकालेको नेताहरूले जनाएका छन् । साथै नेकपाले बाहिर आएको जस्तो हल्लाका भरमा एकता सम्भव नभएको बताएको छ ।
यसअघि सोमबार सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले नेकपासँग एकताको निर्णय गरेको थियो । तर विप्लव नेतृत्वको नेकपाले त्यसलाई अस्वीकार गर्दै औपचारिक निर्णय नभएको जनाएको छ । नेकपाले आगामी दिनमा पार्टीले स्पष्ट कार्यक्रम र आफ्नै सशक्त नेतृत्वमार्फत नयाँ केन्द्र निर्माण गर्दै अघि बढ्ने बताएको छ । बैठकपछि भनिएको छ- ‘जसले उत्पादन केन्द्रित नेकपाको नयाँ कार्यक्रम र विप्लव सी को नयाँ स्वच्छ नेतृत्वमा देशलाई निकास दिन जोड दियो र यसको लागि नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निमार्णको आवश्यकता औल्यायो ।’
त्यस्तै बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गरेको छ । जसअनुसार भदौ १४ गते स्थायी कमिटी, १७ गते पोलिटब्युरो र २२ गते केन्द्रीय समितीको बैठक बस्ने निरन्य गरेको छ ।