Flash News

‘विमानस्थलबाट अपराध आयात नहोस् भनेर सक्रिय हुनु जरुरी छ’

२५ चैत्र २०७९, शनिबार १३:२२

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले शनिवार विमानस्थलको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले विमानस्थलको हेल्प डेस्कलाई प्रभावकारी बनाउन र गतिविधिहरूलाई डिजिटल गर्न जरुरी रहेको बताए।

विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनर्संरचना प्रस्ताव प्रस्तुत गर्न समेत उनले निर्देशन दिएका छन् । गृहमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्तै महत्त्वको ठाउँ भएकोले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो’ मन्त्री श्रेष्ठले भने, ‘यहाँबाट अपराध आयात नहोस् भनेर हामी अतिरिक्त सक्रिय हुनु जरुरी छ।’

नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुबैप्रति विमानस्थल प्रशासन अत्यन्त सहृदयी हुनु जरुरी रहेको समेत मन्त्री श्रेष्ठले बताए । पर्यटकको प्रवेशद्वार आफैँमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने धारणा राख्दै उपप्रधानमन्त्री श्रेष्ठले विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दुःख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने बताए ।

अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई गृह सचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अध्यागमन अधिकृत रामबन्धु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवम् सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधिहरू र नयाँ योजनाको आवश्यकताबारे रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

काठमाडौं, २१ साउन । प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका ३५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन्।   नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्    नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ११ जना, नेपाल सरकार गृह मन्त्रालय ९सचिवस्तर० को २०८२ साउन २१ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ११ जना र प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा १३ जना गरी जम्मा ३५ जना प्रहरी अधिकृतहरू पदोन्नति भएका हुन् ।।      दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू तुल बहादुर कार्की, राकेश सिंह, राजिब बहादुर बस्नेत, कमल थापा, प्रबिण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र प्रसाद फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, दिपेन्द्र शाही र केदार खनाल रहेका छन्  ।     यसैगरी प्रहरी उपरीक्षकहरू अनिल कुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिल बहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का तथा प्रहरी नायव उपरीक्षकहरू बसन्त गौतम, पञ्चलाल गोले, होम प्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलिप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाई, चन्द्र बहादुर खड्का, होम प्रसाद अधिकारी र उपेन्द्र खरेल रहेका छन्     दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।     पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक तुल बहादुर कार्कीले संगठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।