Flash News

चितनवमा कांग्रेस एकढिक्का हुँदा रविलाई गाह्रो

२६ चैत्र २०७९, आईतवार ०२:४४

काठमाडौँ। चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ।

गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन्। यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि सबै नेताहरू एक मत देखिएका हुन्। त्यति मात्रै होईन, जितनारायणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपालगायतका दलहरूको बलियो साथ रहनेछ।

गत निर्वाचनमा चितवन-३ बाट गठबन्धनविरुद्ध उम्मेदवारी दिएका दिनेश कोइरालालगायत विद्रोह गरेका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा, पूर्व सांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेल यसपट कांग्रेस उम्मेदवारको पक्षमा उभिएका छन्।

चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार छन्। विद्रोही नेताहरूले श्रेष्ठलाई जिताउन अपील गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्। कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू कांग्रेसका उम्मेदवारको पक्षमा उभिएको बताएका छन्।

उनीहरूले विद्रोहका क्रममा सहयोग गर्नेहरूप्रति आभार प्रकट गर्दै पुन: कांग्रेस उम्मेदवारलाई जिताउन एक ढिक्का हुने अपिल गरेका छन्। चितवनमा विद्रोह गर्नेमध्ये दिनेश कोइरालाको कारबाही अझै फिर्ता भएको छैन। आगामी उपनिर्वाचनको भूमिकाको आधारमा कोइरालाको कारबाहीबारे निर्णय हुने कांग्रेसले जनाएको छ।

यता नागरिकता विवादपछि सांसद पद गुमाएका रास्वपाका सभापति रवि लामिछानेलाई भने यो पटक रोक्ने अवस्था सिर्जना हुँदै गएको छ। टुरिस्टको संज्ञा दिएर नेकपा एमाले उम्मेदार र नेता कार्यकर्ताहरूले नारा लगाउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्