काठमाडौं । नेकपा एमालेको सदस्यता नवीकरण गरेर राजनीतिमा सक्रिय बनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता थप बढाएकी छन् ।
त्यसो त आफूले सदस्यता नवीकरण गरेको भण्डारीले दाबी गरे पनि एमालेले भने भडारीको सदस्यता पेण्डिङमा रहेको बताएको थियो । साथै भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न समेत चेतावनी दिएपछि भण्डारीले थप सक्रियता देखाएकी हुन् ।
भण्डारीले थापागाउँस्थित एक घर नै भाडामा लिएर भेटघाटलाई तीव्रता दिने तयारी गरेकी छन् । त्यसका लागि एक घरसमेत भाडामा लिइएको छ ।
त्यसो त ०४८ सालको आम निर्वाचनमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाएका थिए । साथै मदन भण्डारीको निधन भइसकेपछि भएको उपनिर्वाचनमा विद्याले समेत सोही घर भाडामा लिएर सम्पर्क कार्यालय बनाएकी थिइन् ।
अहिले पनि सोही घर भाडामा लिएर त्यहीँबाट भण्डारीको राजनीतिक सक्रियता हुने बताइएको छ । यता नेकपा एमालेले भण्डारीका लागी च्यासलको ढोका बन्द जस्तै गरेपछि मदन भण्डारी फाउण्डेसनमार्फत् भण्डारी राजनीतिमा थप सक्रिय बनिरहेकी छन् ।
एमालेले सदस्यता पेण्डिङमा रहेको भन्दै रोक्न खोजेपछि भण्डारीले पत्रकार सम्मेलन नै गरेर त्यसको प्रतिवाद समेत गरिन् ।
केही दिन अघि पत्रकार सम्मेलन गरेर भण्डारीले आफूले दुख गरेको पार्टीमा पुनः सक्रिय हुन पाउने अधिकार रहेको र कसैले पनि आफ्नो सदस्यता खोस्न नसक्ने भन्दै चेतावनी समेत दिएकी थिइन् ।
source : lokpath.com