राजनीनिती

दुई करोड डिल अडियोमाथि अख्तियारले थाल्यो अनुसन्धान

२८ चैत्र २०७९, मंगलवार ०२:३७

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादमा अख्तियारले अनुसन्धान अघि बढाएको छ ।

स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम जोहो गरिदिन प्रसाईंलाई आग्रह गरेको अडियो सार्वजनिक भएको थियो ।

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक प्रसाईंको कलेजको सम्बन्धनको प्रक्रिया रोकिएको छ, त्यस्तै उनको अस्पतालले उपचार बिमामार्फत दाबी गरेको १४ करोड रुपैयाँमा प्रश्न उठेकाले भुक्तानी भएको छैन । प्रसाईंका काम गराइदिने र मिलेर देश बनाउने भन्दै सांसद श्रेष्ठले घूस मागेको अडियो आइतबार कपूरबोट टीभीले सार्वजनिक गरेको थियो । यो अडियोबारे सार्वजनिक बहस सुरु भएसँगै अख्तियारले अनुसन्धान थालेको हो ।

घूस संवादबारे अख्तियारका पदाधिकारीबीच सोमबार छलफल भएको थियो । त्यसक्रममा पदाधिकारीले मिहिन अनुसन्धान गर्नुपर्ने धारणा राखेका थिए । घूस प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारलाई नै प्रमाण मानेर अनुसन्धान अघि बढाउने अख्तियारको निष्कर्ष छ ।

‘सञ्चारमाध्यममा प्रकाशित, प्रसारित समाचारलाई पनि सार्वजनिक उजुरी मानेर भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गर्छौं,’ अख्तियारका एक अधिकारीले भने, ‘मन्त्री बन्न आफ्नै दलको नेतृत्वलाई पैसा बुझाउनुपर्ने भएको र रकम जोहो गरिदिन एक सांसदले मेडिकल व्यवसायीलाई गरेको अनुरोधलाई नोटिसमा लिएर आयोगले अनुसन्धान अघि बढाएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले नाजायज रकम लेनदेन गरेको वा प्रयास गरेको विषय भ्रष्टाचारजन्य कसुरमा पर्छ, यसबारे पक्कै पनि हामी तथ्य र प्रमाणबमोजिम एउटा निचोडमा पुग्छौं ।’

प्रतिक्रिया दिनुहोस्