काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाविधेशनको आज दोस्रो दिन रहेको छ । ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी महाधिवेशनको दोस्रो दिन आज बिहान ८ बजेदेखि शुरु हुदैछ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पहिलो दिन शुक्रबार विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको थियो । पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आज शनिबार बिहान निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत हुने गौतमले जानकारी दिए । शनिबार बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नेछन् । तीन प्रस्तुतीकरण सकिएपछि बिहान १० बजेदेखि सबै प्रतिवेदनमाथि समूहगत छलफल हुने कार्यतालिका रहेको छ । महाधिवेशनमा भाग लिइरहेका दुई हजार २६ जना प्रतिनिधिलाई विभिन्न १० समुहमा विभाजन गरेर प्रस्तुत गरिएका दस्तावेजमाथि छलफल गरिने बताइएको छ ।
महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी योगेश भटटराईलाई दिइएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि बाहेक आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।