काठमाडौं । विभिन्न राजनीतिक दलनिकट युवा संगठनहरूले नयाँ सरकार गठन गर्दा संविधानबाहिर नजान आग्रह गरेका छन् । नेपाली कांग्रेसनिकट नेपाल तरुण दल, नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, नेकपा माओवादी केन्द्रको योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), नेकपा (एकीकृत समाजवादी)को युवा संघ नेपाल र नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले आज भर्चुअल बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकाल्न माग गरेका हुन् ।
नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाईसीएल अध्यक्ष पुष्प ओली, युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा भनिएको छ- जेन जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौँ । कुनै पनि नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठूलो बलिदानीमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्छ भनेर जोडदार माग गर्दछौँ ।’
यी संगठनले केही दिनयताका घटनाहरूबाट स्तब्ध र गम्भीर भएको बताएका छन् । आन्दोलनका क्रममा भएका हत्या, तोडफोड र आगजनीका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न माग उनीहरूले माग गरेका छन् । ‘हामी जेन जीले प्रस्तुत गरेका प्रमुख मागहरू- भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता- प्रति समर्थन जनाउँदछौँ र उक्त मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउँदछौँ । भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रियामार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।
देशको पछिल्लो अवस्थाप्रति चारै युवा संगठनहरू गम्भीर रहेको राष्ट्रिय युवा संघ, नेपालका प्रवक्ता निरोज पौडेलले बताए । ‘हामी निरन्तर छलफलमा छौँ’, उनले भने, ‘संविधान र लोकतन्त्र मास्ने कुनै षड्यन्त्र नहोस् भनेर हामी खबरदारी पनि गर्न चाहन्छाैँ ।’
संयुक्त विज्ञप्ति
हामी नेपालका निम्न युवा संगठनहरू विगतका केही दिनयताका घटनाहरूबाट स्तब्ध र गम्भिर भएका छौँ । जेन जीको आह्वानमा भएको आन्दोलनको क्रममा हालसम्म ३० जनाको मृत्यु र एक हजार बढी घाइते भएका छन् । यो स्तरको मानवीय क्षति अत्यन्तै दु:खद, हृदयविदारक र निन्दनीय छ । सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दछौँ र परिवारजनमा गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दछौँ साथै सबै घाईतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । यस घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कानूनबमोजिम कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौँ ।
हामी जेन जीले प्रस्तुत गरेका प्रमुख मागहरू – भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता – प्रति समर्थन जनाउदछौँ र उक्त मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउदछौँ। भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रिया मार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ ।
प्रधानमन्त्रीले राजीनामा दिईसकेपछि पनि अवाञ्छित तत्वले विध्वंस, आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटना गराउने काम जारी छ । हामी यी सम्पूर्ण घटनाको पूर्णरूपले निन्दा र भत्सर्ना गर्दछौँ । यस स्तरमा सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुदा समेत नेपाली सेना लगायतका सुरक्षा निकाय के कारणले मुकदर्शक भएर बसेका हुन् ? यस सम्बन्धमा छानबीनसहित यस आन्दोलनको क्रममा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समिक्षा र पुनरावलोकन गरिनुपर्ने माग गर्दछौँ । साथै अहिलेसमेत जारी विध्वंसकारी गतिविधिप्रति सुरक्षा निकायको गम्भिर ध्यानाकर्षण गर्दै टोलटोल सुरक्षा समितिको गठन गरी यस्ता घटना रोक्न जनसमुदाय र स्थानियतहका समितिहरूलाई अपिल गर्दछौ । यस्ता घटनाहरूले आन्दोलनको शुद्धता र उद्देश्यलाई क्षति पुयाउँछन् र राष्ट्रलाई थप पीडा दिइरहेका छन् ।
हामी विशेष गरेर अबको आगामी राजनीतिक यात्रा यस अघिका विभिन्न आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गरेर मात्र तय गरिनुपर्छ भन्नेमा प्रष्ट छौँ । जेन जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिईरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौँ । कुनै पनि नयाँ परिवर्तनतर्फ अग्रसर हुदै गर्दा ठुलो बलिदानीमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्छ भनेर जोडदार माग गर्दछौँ । साथै, आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकालिनुपर्छ भनेर माग गर्दछौँ ।
मुलुकको यस विषम परिस्थितिमा हामी सम्पूर्ण युवाहरूलाई संयमित र सजग तथा नेपालको लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधिनता र सार्वभौमसत्ताको रक्षाका निमित्त दृढ भएर क्रियाशील रहन हार्दिक अपिल गर्दछौँ ।
Siurce : shilapatra.com