Flash News

यि हुन् कांग्रेसबाट मन्त्री बन्ने नेताहरू (नामसहित)

३० चैत्र २०७९, बिहीबार ०२:०५

काठमाडौँ। नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ। नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो। तर, आन्तरिक भागबण्डा नमिलेपछि कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो। शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार नेतालाई मात्र मन्त्री बनाएका थिए।

स्रोतका अनुसार थप एउटा मन्त्री लिएर भागबण्डा टुंग्याउने प्रयास भइरहेको छ। अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन्। साउद र बस्नेत संस्थापन समूहका हुन्। साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएका छन्। डिगबहादुर लिम्बुलाई कानुन भनिएको छ, तर उनले यसमा रुचि देखाएका छैनन्।

शेखर–गगन समूहले थप एउटा मन्त्री पाउँदा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जाने थिए । स्रोतका अनुसार देउवाले ६/२ को भागबण्डा नगर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सुरुमा केन्द्रीय सदस्य प्रदीप पौडेलका लागि लबिङ गरेका थिए।

तर संसदीय दलको चुनावमा साथ नदिएका प्रदीपलाई मन्त्री बनाउन देउवा तयार भएनन्। त्यसपछि शेखर समूहबाट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जना मन्त्री हुने सम्भावना थियो। प्रत्यक्ष चुनाव जितेका कारण पाण्डेको सम्भावना रहेको नेताहरुले बताएका थिए।

तर, उनलाई रोकेर सुरेन्द्र आचार्य मन्त्री बन्ने पक्का जस्तै भएको नेताहरु बताउँछन्। एक नेताका अनुसार हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महेन्द्र राय यादवले अर्को मन्त्रालय मागेका कारण मन्त्रिपरिषद विस्तारमा ढिला भएको हो। ‘आज त सम्भव नहोला, भोलितिर होला’, एक नेता भन्छन्।

प्रतिक्रिया दिनुहोस्