काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनर्गठन गर्ने बताएका छन् । शनिबार भिडियो सन्देशमार्फत पार्टीलाई पुनर्गठन गर्ने बताउदै सबै कार्यकर्तालाई भरोसा गर्न आग्रह गरेका हुन् ।
भिडियो सन्देशमा भट्टराईले पार्टीको नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्ने बताउदै एमाले अब पहिला जस्तो नरहने बताएका छन् । उनले भनेका छन्- ‘पार्टी पुनर्गठन अहिलेको आवश्यकता हो । नेतृत्व, संगठन, कार्यशैली सबै कुरामा पुनर्गठन गर्नुपर्नेछ । त्यो पुनर्गठन गर्छौं । अब एमाले हिजोजस्तो रहँदैन, नयाँ हुन्छ । जनमुखी, युवामैत्री हुन्छ ।’
साथै भट्टराईले जेनजी युवाहरुका माग संबिधान र संसद भित्रबाट गरिनुपर्नेमा त्यसो नगरिएको र यो सहि निकास नभएको बताएका छन् । अहिलेको संसदबाटै प्रधानमन्त्री बनाउन सकिने थियो भन्दै त्यसो नगरेर संसद विघटन गरिएको उनले बताए ।
साथै भट्टराईले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।