Flash News

आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा देखियो: प्रधानमन्त्री

१ बैशाख २०८०, शुक्रबार ०७:५५

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए ।

उनले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरे । वर्तमान समयमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागे पनि स्थिति सहज नरहेको उनको जिकिर थियो । जिम्मेवारी बोध गरी सङ्घर्ष नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्ने चेतावनी उनले दिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौती रहेकाले योजनाहरूको कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए । उनले नेतृत्वलाई दबाब दिएर पद पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए । पार्टी जनतामा नजानु भनेको नेताहरूको सहयोगमा नेतृत्व लिने प्रणाली हाबी हुनु रहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले कार्यकर्ताको मन जित्ने मानिस नै नेता बन्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्