काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेले ‘जेनजी’ आन्दोलन सम्बन्धी जाँचबुझ आयोगले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली लगायतका नेताहरूको राहदानी रोक्का गर्न सिफारिस गरेको निर्णयप्रति कडा आपत्ति जनाएको छ। एमालेले आयोगको यो कदमलाई ‘राजनीतिक प्रतिशोधपूर्ण’ भन्दै यसले आयोगकै विश्वसनीयतामाथि प्रश्न उठाएको दाबी गरेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकपछि जारी विज्ञप्तिमा एमालेले दसैँको अवसर पारेर गरिएको यो सिफारिस ‘मिडिया ट्रायलको निरन्तरता’ भएको र यसले आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको आरोप लगाएको छ।
यसैगरी, एमालेले गृह मन्त्रलयले भदौ २४ गतेको घटनामा संलग्न दोषीहरूलाई कारबाही नगर्न नेपाल प्रहरीलाई दिएको निर्देशनप्रति पनि असन्तोष व्यक्त गरेको छ। एमालेले उक्त निर्देशनले अपराध अनुसन्धान गर्ने प्रहरीको अधिकारमाथि हस्तक्षेप गरेको र अपराधीको मनोबल बढाएको भन्दै आपत्ति जनाएको छ। पार्टीले प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
source : sajilopatrika.com