Flash News

सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर सञ्चालन गर्छु: गृहमन्त्री

१ बैशाख २०८०, शुक्रबार १३:५५

काठमाडौँ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर सञ्चालन गर्ने घोषणा गरेका छन् ।

योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै उनले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा त्यसलाई संचालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताएका हुन् ।

श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यान र योगले फाईदा गर्ने भएकाले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललगातका नेताहरुलाई पनि केही समय यसलाई दिन भन्ने गरेको बताए ।

आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई पटक त्यसका लागि आफू २० दिन ध्यानमा बसेको उनले स्मरण गराए । उपप्रधानमन्त्री श्रेष्ठले यसअघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा त्यहाँ पनि योग तथा ध्यान शिविर सञ्चालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको समेत बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौँ महानगरपालिकालाई सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर उठाउँदिन भन्न नमिल्ने बताए । कुनै एउटा सन्दर्भलाई लिएर काठमाडौँ महानगरपालिका मेयर बालेन साहले भनेको प्रसंगलाई उद्धृत गर्दै उनले त्यसो भन्न मिल्छ कि मिल्दैन? भनेर सोची दिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्