Flash News

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं: प्रधानमन्त्री प्रचण्ड

७ बैशाख २०८०, बिहीबार १३:२८

बारा। नेकपा माओवादी केन्द्रका ‘अध्यक्ष’ एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताएका छन् ।

बिहीबार सत्ता गठबन्धनको चुनावी सभामा बोल्दै प्रचण्डले यस्तो कुरा बताएका हुन् । बारा २ बाट सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी९जसपा० अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घटनका बेला मैले भनेको थिएँ । निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ । गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पनि पहल हुनेछ । गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवर्धन गरिनेछ’ प्रचण्डले भने, ‘कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ । विद्युतीय सिञ्चाइँ प्रणालीमार्फत् सिञ्चाईंको व्यवस्था गरिनेछ । उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले यसपटक गाँठो पार्ने नभई गाँठो फुकाउने राष्ट्रपति पाएको भन्दै खुसी व्यक्त गरे । ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ’ प्रधानमन्त्री प्रचण्डले भने,‘नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ ।’

आफू सरकारको नेतृत्वमा पुगेपछि धेरै सुधार भएको प्रचण्डले दाबी गरेका छन् । ‘यसअघि राजस्व घटेको थियोे, चोरी पैठारी बढेको थियो । अर्थतन्त्र संकटमा थियो । तर अहिले अर्थतन्त्रमा सुधार आएको छ । पर्यटक आउने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशमा रहेका लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ । समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो’ प्रचण्डले भने । उपेन्द्र यादव देशलाई चाहिने नेता भएकाले सबैले जिताउनुपर्ने उनले बताए । उपेन्द्रले जित्नु भनेको सिंगो मधेसले जित्नु सरह भएको जिकिर समेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस्