रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा रहेको बेला जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संग भेट गरेका छन् ।
बाराको कलैयामा भएको भेटमा दुबै नेताबीच समसामयिक राजनीतिक परिस्थिति, प्रदेश सरकारको कार्यदिशा र आगामी राजनीतिक समन्वयका विषयमा छलफल भएको हो । छठ पर्व सकिएपछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी रहेका मुख्यमन्त्री सोनलले जसपा नेपालका केन्द्रीय अध्यक्ष यादव संग भेटलाई महत्त्वपूर्ण मानिएको छ ।
उक्त भेटलाई मधेश प्रदेशको वर्तमान राजनीतिक समीकरण र सरकार स्थायित्वका दृष्टिले महत्वपूर्ण मानिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाराले जनाएको छ । मुख्यमन्त्री सोनलले प्रदेशसभामा लिन लागेको विश्वासको मत सम्बन्धमा समेत छलफल भएको सो पार्टीका नेताहरुले जानकारी दिएका छन । स्थानीय राजनीतिक विश्लेषकहरूले यो भेटलाई प्रदेशको राजनीतिक गतिशीलता र आगामी सत्ता समीकरणका सन्दर्भमा महत्वपूर्ण संकेतका रूपमा लिएका छन् ।
मुख्यमन्त्री सोनलले जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन्।
नेपालको संविधानअनुसार, मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गत असोज २९ गते मुख्यमन्त्रीमा सोनल नियुक्त भएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछी सोनल राजनितिक भेटघाट तथा छलफल , बैठकमा व्यस्त छन ।