Flash News

शान्ति प्रक्रियाकाे बाँकी काम पूरा गर्नुपर्छ: गृहमन्त्री श्रेष्ठ

९ बैशाख २०८०, शनिबार ०७:१८

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन्।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनैपनि हालतमा पूरा गर्नुपर्ने बताएका हुन् ।  उनले भने, ‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौं, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सक्छौं । यो शान्ति प्रक्रियाको बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुछ ।’

शनिबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारणसभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भइरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढनुको विकल्प नरहेको पनि बताए । ‘डेढ दशक वितिसक्यो ।

तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष वितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौं’ श्रेष्ठले भने, ‘यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भइराखेका छन् । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकि कामलाई पूरा गर्नुछ ।’

एक दशकभन्दा बढी समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उनको भनाई थियो ।  उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए । मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको दोहोर्याउँदै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए ।

‘जनताको अपेक्षा पूरा गर्न, हाम्रो प्रतिवद्धता पूरा गर्न र यो परिवर्तनको औचित्य पुष्टि गर्नका लागि हामीले समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नुपर्छ । र, फड्को मार्ने दिशामा पुर्याउनु पर्दछ भन्ने हाम्रो अर्को कार्यभार हो । जसलाई हामीले तात्कालिक केन्द्रिय कार्यभार भनेका छौं’ उनले भने, ‘यसक्रममा अहिले अर्थतन्त्रको क्षेत्रमा केही समस्याहरु देखा परेका छन । तत्कालीक रुपमा केही अप्ठ्याराहरु देखा परेका छन् । तर, अर्थतन्त्र गम्भिर संकटको चक्रब्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन । केही समस्याहरु छन् । त्यो समस्याहरुलाई हामीले गम्भिरतापूर्वक विश्लेषण गरिराखेका छौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले जनताको अपेक्षालाई पूरा गर्न र यो परिवर्तनको औंचित्यलाई पुष्टि गर्न पनि सरकारले आर्थिक समृद्धिको यात्रालाई तीव्रता प्र्र्र्र्र्र्र्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेको दावी समेत गरे । उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै सोही अनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताए । उनले सुशासन र जनमुखी कार्ययोजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्ने भएकाले त्यसमा सञ्चार क्षेत्रले सहयोग गर्नुपर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सीमित स्रोत र साधनको भरमा काम गर्नुपर्ने भएकाले सरकारले चाहेजसरी काम गर्न सक्ने अवस्था नभएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्