![]()
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ स्थित सोभन रावतको घरमा कार्तिक २६गते मंगलबार साँझ करिब ७ बजे लागेको भीषण आगलागीले सम्पूर्ण घर जलेर नष्ट भएको छ। केही क्षणमै आगोले घरलाई पूर्ण रूपमा घेरेपछि उहाँसँग न टेकेर बस्ने ठाउँ बाँकी रह्यो, न भोलिका दिनका लागि खाद्यान्न। एकैपटक गृहस्थीका सम्पूर्ण सामग्री, लत्ताकपडा, कागजात र जीवनभरको मेहनत खरानीमा परिणत भएको छ।
दुर्गम भेग, सिमित स्रोत र तत्काल उद्धार उपकरणको अभावका कारण आगो नियन्त्रणमा ल्याउन स्थानीयहरूद्धारा गरिएको प्रयास सफल हुन सकेन। अहिले रावत परिवार खुला आकाशमुनी रात बिताउन बाध्य भएका छन्। हिमाली क्षेत्रको कडा जाडो सुरुआत भइसकेको अवस्थामा बसोबासविहीन बन्नु उनीहरूका लागि ठूलो संकट बनेको छ।
यस्तो पीडादायी क्षणमा, स्वदेश तथा विदेशमा रहनु हुने सबै सहयोगी मनहरूमा हामी हार्दिक अपिल गर्दछौँ—
एक हात सहारा बनेर अघि सर्नुहोस्, एउटा सहयोगले एउटा परिवार बाँच्न सक्छ।
रावत परिवारलाई तत्काल टेन्ट, लत्ताकपडा, खाद्यान्न, घरायसी सामग्री र आवश्यक आर्थिक सहयोग अत्यावश्यक बनेको छ। “सेवा नै धर्म हो” भन्ने मूल्यलाई आत्मसात गर्दै सहयोगको हात लम्ब्याउन सक्ने महानुभावहरूलाई स्थानीयवासी तथा जनप्रतिनिधिहरूले विशेष अनुरोध गरेका छन्।
आगलागीले सबैतिर अँध्यारो छरे पनि, तपाईंको सहयोगले उनीहरूको घर–परिवारमा फेरि उज्यालो फर्किन सक्छ भनेर छिप्रा निबासी युवा नेता सुरेन्द्र रावलले हिमालय प्रेसलाई जानकारी गराउनु भएको छ ।