कर्णाली प्रदेश

रानीसैन विवाद कर्णाली करिडोरसम्म : सडक बन्द हुँदा हुम्लाबासी आन्दोलित

२९ जेष्ठ २०८३, शुक्रबार २२:४८

हुम्ला — हुम्ला र बाजुराको सीमा क्षेत्रमा रहेको रानीसैन विवाद अब केवल दुई जिल्लाबीचको सीमांकनको विषयमा सीमित नरही कर्णालीकै जनजीवन प्रभावित पार्ने गम्भीर संकटका रूपमा विकसित भएको छ। विवादको नाममा बाजुराको धुलाचौर खण्डमा कर्णाली करिडोर बन्द गरिएपछि सम्पूर्ण हुम्ला जिल्ला प्रभावित बनेको भन्दै हुम्लावासी आन्दोलनमा उत्रिएका छन्।

तीन दिनदेखि धुलाचौर क्षेत्रमा सडक अवरुद्ध हुँदा सयौं यात्रु, बिरामी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बीच बाटोमै अलपत्र परेका छन्। खाद्यान्न, औषधि, इन्धन तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारी साधन रोकिँदा हुम्लाको आपूर्ति व्यवस्था समेत प्रभावित भएको छ। यसको विरोधमा शुक्रबार सिमकोटमा विभिन्न गाउँपालिका तथा वडाबाट आएका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय हुम्ला घेराउ गर्दै कडा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले “सीमा विवादको नाममा हुम्लालाई बन्धक बनाउन पाइँदैन”, “राजमार्ग बन्द गर्नेलाई कारबाही गर”, “सर्वसाधारणमाथिको ज्यादती बन्द गर” जस्ता नाराबाजी गरेका थिए। उनीहरूको भनाइमा रानीसैनको विवाद समाधान राज्यको दायित्व भए पनि त्यसको मूल्य निर्दोष नागरिकले चुकाउनुपरेको छ।

कानुनविपरीत राष्ट्रिय राजमार्ग बन्द गरेर हजारौं नागरिकलाई दुःख दिने कार्य अस्वीकार्य भएको बताउँदै दोषीमाथि तत्काल कारबाही हुनुपर्ने र सार्वजनिक सडक अवरुद्ध गरेर नागरिकको संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले माग गरे। प्रदर्शनकारीहरूले प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीमार्फत गृहमन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै कर्णाली करिडोर तत्काल सञ्चालन गराउन, यात्रुको सुरक्षा सुनिश्चित गर्न तथा सडक बन्द गराउने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले सडक नखुले आन्दोलन अझ सशक्त र व्यापक बनाउने चेतावनी समेत दिएका छन्।

पछिल्लो एक महिनादेखि हुम्ला–बाजुरा सीमामा पर्ने रानीसैन क्षेत्रको स्वामित्वलाई लिएर विवाद चलिरहेको छ। सोही विवादका क्रममा जेठ ३ गते बाजुराको लाम्पाटामा दुई समुदायबीच झडप हुँदा केही व्यक्ति घाइते भएका थिए। उक्त घटनालाई आधार बनाएर बाजुरातर्फबाट बुधबारदेखि कर्णाली करिडोरको धुलाचौर खण्ड बन्द गरिएको स्थानीयको आरोप छ।

हुम्लावासीको आक्रोश केवल सडक बन्दप्रति मात्र होइन, समस्या समाधानमा राज्य संयन्त्रको सुस्त भूमिकाप्रति पनि केन्द्रित देखिएको छ। प्रदर्शनकारीहरूले प्रश्न उठाएका छन्— “राष्ट्रिय गौरवको सडक मानिएको कर्णाली करिडोर केही व्यक्तिको निर्णयले दिनौँसम्म बन्द हुन सक्छ भने राज्यको उपस्थिति कहाँ छ ?

दुर्गम हिमाली जिल्ला हुम्लाको जीवनरेखा मानिएको कर्णाली करिडोर अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त बनेको छ। विकास, आपूर्ति, स्वास्थ्य सेवा र आवतजावतका लागि यही सडकमा निर्भर हुम्लावासीले अब केवल सडक खुलाउने मात्र नभई कानुन हातमा लिएर सार्वजनिक मार्ग अवरुद्ध गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्न खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले माग गरेका छन्।

रानीसैनको सीमा विवाद अहिले दुई जिल्लाबीचको प्रशासनिक विवादभन्दा माथि उठेर नागरिक अधिकार, कानुनी शासन र राज्यको प्रभावकारितासँग जोडिएको विषय बनेको छ। समयमै समाधान खोज्न नसके कर्णालीका दुई छिमेकी जिल्लाबीचको तनाव अझ गहिरिने र त्यसको प्रत्यक्ष असर सर्वसाधारण नागरिकमाथि पर्ने देखिएको छ। अहिले हुम्लावासीको एउटै आवाज छ— “विवाद समाधान गर, सडक खोल, जनतालाई बन्धक बनाउन बन्द गर।”

source : radiokailash.org.np

प्रतिक्रिया दिनुहोस्