Flash News

कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुर्दै प्रधानमन्त्री

१४ बैशाख २०८०, बिहीबार १४:०३

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरिरहेका छन् ।

वैशाख १० गतेको उपनिर्वाचनपछि कांग्रेसले मन्त्री बन्नेको लिष्ट बुझाउने बचन दिएको थियो । उपनिर्वाचन भएको चार दिन हुँदा समेत कांग्रेसले मन्त्री बन्नेको लिष्ट प्रधानमन्त्रीलाई बुझाएको छैन । कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्री बन्नेको लिष्ट नबुझाएको हुन सक्ने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।

‘प्रधानमन्त्रीज्यूले कांग्रेसबाट मन्त्री बन्नेको लिष्ट कुरेर बस्नुभएको छ । कांग्रेसबाट पाँच जना मन्त्रीले शपथ लिइसक्नुभएको छ । अब २ मन्त्री कांग्रेसबाट बन्ने पालो छ । एक जसपा र एक स्वतन्त्र सांसदबाट मन्त्री बनाउने भनिएको छ’ ती सचिवालय सदस्यले भने, ‘कांग्रेसबाट जति छिटो मन्त्री बन्नेको लिष्ट आउँछ । त्यति नै छिटो प्रधानमन्त्रीले शपथ गराउनुहुन्छ ।’ कांग्रेसमा शेरबहादुर देउवा पक्षबाट मन्त्री भइसकेका छन् भने शेखर कोइराला र गगन थापा पक्षबाट मन्त्री बन्नेको लिष्ट नबुझाउँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड कांग्रेसले मन्त्री बन्नेहरुको लिष्ट बुझाए लगतै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहेको ती सचिवालय सदस्यले बताए ।

जनमत पार्टीबाट अब्दुल खानले खानेपानी मन्त्रीबाट राजीनामा दिएपछि प्रभु साह वा अमरेशकुमार सिंहमध्ये एक जनालाई मन्त्री बनाउने तयारी गरिएको छ । वन तथा वातावरण मन्त्रालय भने जसपाले लिने यसअघि नै सहमति भइसकेको छ । जसपाबाट उपेन्द्र यादव जाने वा अरू नेतालाई पठाउने भन्ने विषयमा सम्बन्धित पार्टीले निर्णय गर्ने भएको छ । कांग्रेसले मन्त्री बन्नेको लिष्ट नदिँदा प्रचण्डले चार मन्त्रालय आफैसँग राखेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिए लगत्तै सरकारलाई गति दिने तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्