राजनीनिती

कांग्रेसमा धमाधम उम्मेदवार सिफारिस 

२५ मंसिर २०८२, बुधबार ०९:३३

काठमाडौं : आगामी फागुन २१ गने हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले धमाधम उम्मेदवार सिफारिस गर्न थालेको छ । विभिन्न जिल्ला, क्षेत्रबाट शिर्ष नेताको नाम उम्मेदवारका रुपमा सिफारिस गर्न थालेको हो ।

कांग्रेसका विभिन्न जिल्लाबाट शिष नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, वरिष्ठ नेता डा. शेखर कोइराला, नेत्री आरजु राणा देउवा विभिन्न जिल्लाबाट सिफारिस भएका छन् ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्। २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

त्यस्तै, महामन्त्री गगन थापालाई धनकुटा र रोल्पाबाट उम्मेदवार सिफारिस गरिएको छ। उनी २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भएका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट उम्मेदवार सिफारिस भएका छन्। उनी गत निर्वाचनमा यहि क्षेत्रबाट निर्वाचित भएका थिए।

अर्का प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ–६ बाट उम्मेदवार सिफारिस भएका छन्। गत निर्वाचनमा उनी यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। उनीहरू सबै सर्वसम्मन एकल उम्मेदवार सिफारिस भएका हुन्।

पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कैलाली–५ बाट उम्मेदवार सिफारिस भएकी छन्। उनीसँगै थप तीन जनाको नाम पनि उम्मेदवारमा सिफारिस गरिएको छ। जसमा नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृप वड रहेका छन्।

पूर्वमन्त्री महेश आचार्यलाई मोरङ–४ बाट उम्मेदवार सिफारिस गरिएको छ। उनीसँगै दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतको नाम पनि सिफारिस गरेर पठाइएको छ।

अर्को पूर्वमन्त्री मीनेन्द्र रिजाल मोरङ–२ बाट उम्मेदवार सिफारिस भएका छन्। उनीसँगै शिवनारायण सिंह र नारायणी पण्डितको नाम पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पठाइएको छ।

सिन्धुपाल्चोक–१ बाट पूर्वमन्त्री मोहनबहादुर बस्नेतको नाम सिफारिस भएको छ। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बस्नेत गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

कांग्रेस नेता रमेश रिजाल पर्सा–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएका छन्। उनी पनि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका हुन्।

कांग्रेस उम्मेदवारका लागि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द पनि सिफारिस भएका छन्। बैतडीबाट चन्दलाई उम्मेदवारमा सिफारिस गरिएको हो।

यसैगरी, पूर्वमन्त्री हृदयराम थामी सुर्खेत–२ बाट उम्मेदवार सिफारिस भएका छन्। उनीसँगै उपेन्द्र थापा, कमल खत्री, नारायण कोइराला, भिष्मराज हमाल र वसन्ती बस्नेत उम्मेदवारमा सिफारिस भएका छन्।

कांग्रेसका क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा नाम पठाएका हुन्। अब जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा नाम पठाउनेछ। प्रदेशले पठाएका नाममा छलफल गरेर कांग्रेस केन्द्रले उम्मेदावर घोषणा गर्नेछ।

source : nayapage.com

प्रतिक्रिया दिनुहोस्