Flash News

स्वार्थी, फटाहा र बुद्धि नभएकाले राजतन्त्र मान्छन्: अध्यक्ष ओली

१७ बैशाख २०८०, आईतवार १४:१७

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने बताएका छन्।

आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन किसिमका मानिसलेमात्र राजतन्त्र मान्ने गरेको बताएका हुन्।

‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’, ओलीको भनाइ छ। उनले स्वार्थी तत्वहरु विकाउ माल भएको भन्दै उनीहरुलाई एकहप्ता दश दिनका लागि किन्न सक्ने भन्दै त्यस्ता तत्वहरुले राजतन्त्र मान्ने गरेको बताए। अध्यक्ष ओलीले झापा र तेह्रथुम लगायतका स्थानमा आफु जाँदा आक्रमण गर्नेहरु पनि पूर्वराजा ज्ञानेन्द्र शाहका परिवार र सत्तारूढ दलका कार्यकर्ताको संलग्नता रहेको दावी गरे।

ओलीले भने, ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ। स्वार्थी फटाहाले । कि मूर्खले मान्छ । राजतन्त्र मान्ने दुई खालको मान्छे हुन्छन् । कोही कोही अज्ञानीमा पनि मान्छन् । तीन खालकै भनौँ । एकथरी अज्ञानी हुन्छन्। बिचरा केही पनि बुझ्दैनन् । त्यसकारण मान्छन् राजतन्त्र । अर्को थरी स्वार्थ, साधना गर्नका लागि मान्छन्। दलालहरूले मान्छन् । बुद्धि नभएकाहरूले मान्छन्। जन्मिँदैखेरि यस्तो हुनुपर्छ भनेर । अव स्वार्थी तत्त्वहरू र बिकाऊ मालहरूले मान्छन् । तिनलाई केही पनि छैन। अलिकति थोरैमा एक दिनका लागि, एक छिनका लागि, एक हप्ताका लागि, १० दिनका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले। अपराध कर्मका लागि । त्यस्ता तत्त्वहरूले मान्छन्।’

‘कार्यक्रममा जाँदै गर्दा केही गुन्डा प्रवृत्ति, अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा गरे’, ओलीले भने, ‘यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह उनको परिवारको देखिएको छ ।’ उनले सत्तामा हुने पार्टीका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउदा पनि सरकार चुप लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्