राजनीनिती

प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडाैं ९ मा रास्वपाबाट डीपी अर्यालले पाए टिकट

६ माघ २०८२, सोमबार १३:२४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गएरातिदेखि टिकट वितरण गरिरहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवार टुंगो लागेका निर्वाचन क्षेत्रको टिकट वितरण भइरहेको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापलट भएपछि देशभर भोलि (माघ ६ गते) मनोनयन दर्ता हुँदै छ ।

रास्वपाले यसअघि २०७९ मा निर्वाचन जितेका निर्वाचन क्षेत्रमा अधिकांश पुरानै अनुहार दोहोर्‍याएका छन् । रास्वपा सभापति रवि लामिछाने चितवन–२ बाट चुनाव लड्ने छन् ।

वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ बाट चुनाव लड्नका लागि टिकट लिएर गइसकेका छन्  ।

२०७९ को प्रतिनिधिसभाको निर्वाचनमा विजयी बनेका शिशिर खनाल काठमाडौं–६, गणेश पराजुली काठमाडौं–७, काठमाडौं–८मा विराजभक्त श्रेष्ठ, डीपी अर्याल (डोलप्रसाद) काठमाडौं–९, डा. तोसिमा कार्कीले ललितपुर–३ बाट चुनाव लड्ने गरी टिकट पाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर–२ मा निर्वाचित बनेकी सोविता गौतमले यसपटक चितवन–३ रोजेकी छन् । उनको प्रतिस्पर्धा चितवन भरतपुरकी निवर्तमान मेयर रेनु दाहालसँग हुनेछ ।

चितवन–१ मा हरि ढकालले टिकट पाएका छन् । यसअघिको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

ओखलढुंगाबाट चुनाव लड्नका लागि विश्वराज पोखरेलले टिकट पाएका छन् । झापा–१ निशा डाँगी, झापा–२ इन्दिरा रानामगर, झापा–३ प्रकाश पाठक, झापा–४ मा शम्भु (सुस्केरा) चुनावी मैदानमा होमिँदैछन् ।

तनहुँ–१ मा स्वर्णिम वाग्ले चुनाव लड्नेछन् । तनहुँ–२ मा श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले टिकट पाएका छन् । धनुषा–३ बाट मनिष झा प्रतिस्पर्धा गर्नेछन् ।

ताप्लेजुङबाट वीरेन्द्र श्रेष्ठ, उदयपुर–२ बाट सूर्यबहादुर तामाङ, लमजुङमा धर्मबहादुर केसी, गोरखा–१ मा सुदन गुरूङ, गोरखा–२ कवीन्द्र बुर्लाकोटी, नवलपुर–१ राजन गौतम उमेदवार बन्नेछन् ।

कञ्चनपुर–१ मा जनकसिंह धामी, कञ्चनपुर–२ दीपक बोहरा, कञ्चनपुर–३ ज्ञानेन्द्र महताराले टिकट पाएका छन् । अछाम–२ मा भुपदेव शाह, कैलाली–१ मा कोमल ज्ञवाली, कैलाली–३ मा लक्ष्मण थारू, कैलाली–४ मा हरि रेग्मी, कैलाली–५ मा आनन्द चन्द, बाँके–३ मा खगेन्द्र सुनार, दाङ–२ मा विपीन आचार्यले टिकट पाएका छन् ।

रुपन्देही–३ मा डा. लेखजंग थापा, कास्की–२ मा उत्तम पौडेल, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाजुरा हेमराज थापाले प्रतिस्पर्धा गर्नेछन् ।

नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना, नुवाकोट–२ मा डा. अच्युतम लामिछाने रास्वपाको उमेदवार बन्नेछन् । दाङ क्षेत्र नम्बर–३ मा कमल सुवेदी, लमजुङमा धर्म केसी, नवलपुर–१ मा राजन गौतमले टिकट पाएका छन् ।

जुम्लामा विनिता कठायत, कञ्चनपुर–३ मा ज्ञानेन्द्र महता, दोलखामा जगदीश खरेल, मोरङ –१ मा अधिवक्ता यज्ञमणि न्यौपाने, मोरङ–३ मा गणेश कार्कीले टिकट पाएका छन् ।

बागलुङ–२ मा जेनजी युवा सोम शर्मा र रामेछापमा डा. कृष्णहरि बुढाथोकी उमेदवार छन् । भक्तपुर–२ मा पत्रकार राजिव खत्रिले टिकट पाएका छन् ।

बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिइसकेका छन् । उनी पनि सिरहाबाट चुनाव लड्न रास्वपाका आकांक्षी हुन् । डलेलधुराबाट सागर ढकाल पनि आकांक्षी छन् । तर, डडेलधुराको टुंगो लागेको छैन ।

रास्वपाका एक नेताका अनुसार, काठमाडौं उपत्यकालगायत नजिकका क्षेत्रहरूको टिकट वितरण आज दिउँसो १ बजेदेखि हुँदै छ ।
“आज दिउँसो १ बजेदेखि काठमाडौं उपत्यकालगायत आसपासका निर्वाचन क्षेत्रको टिकट वितरण गर्दैछौँ । केही ठाउँको मात्रै टिकटको टुंगो लाग्न बाँकी छ,” ती नेताले भने ।

रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उमेदवार छनोटका लागि उपसमिति गठन गरेको थियो । उपसमितिलाई योग्य उमेदवार एवं छनोट प्रक्रियासमेतको सिफारिस गर्ने जिम्मेवारी दिने निर्णय रास्वपाको केन्द्रीय समितिको बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्