कर्णाली प्रदेश

कर्णाली विकासका लागि सडक, विद्युत र इन्टरनेटको एकीकृत विकास आवश्यक

२९ चैत्र २०८२, आईतवार २०:१५

सुर्खेत । कर्णालीलाई संसारसँग जोड्न सडक, विद्युत र इन्टरनेटका एकीकृत विकासमा जोड दिन विज्ञहरूले सुझाव दिएका छन् ।

कुडा कर्नालीको सातौ संस्करणको दोस्रो दिन ‘कनेक्टिङ कर्णाली’ सत्रका सहभागी वक्ताहरूले कर्णाली प्रदेशको समग्र विकासका लागि भौतिक र डिजिटल पूर्वाधारको एकीकृत विकास जरुरी भएको बताए ।

यो सत्रमा स्वतन्त्र ऊर्जा उत्पादक संघका कार्यकारी सदस्य सुमन जोशी, नेपाल सरकारका पूर्वसचिव केशवकुमार शर्मा र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्मा वक्ताको रुपमा सहभागी भएका थिए ।

स्वतन्त्र ऊर्जा उत्पादक संघका कार्यकारी सदस्य सुमन जोशीले कर्णालीमा ऊर्जाको प्रचुर सम्भावना भए पनि निजी क्षेत्र आकर्षित नभएको बताइन् ।

कर्णालीमा कुल उत्पादनको आधा आयोजनाहरुको विभिन्न चरणमा काम भईरहेको उनले बताइन् । अझै आधा उत्पादनको लागि कुनै योजना समेत बनाउन नसकिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘कर्णालीमा झण्डै १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता अनुमान गरिएको छ, विभिन्न आयोजनाबाट हालसम्म करिब नौ हजार मेगावाटका आयोजनाहरू विभिन्न चरणमा रहेका छन् ।’

‘कर्णालीमा २०४५ सालबाट सुरु भएको विद्युतको प्रसारण लाइनले त्यसको झण्डै तीन दशकपछि मात्र १३२ केभीको लाइन बिस्तारले पनि विद्युत विकासको गति सुस्त रहेको देखाउछ,’ उनले थप भनिन् ।

सडक पहुँचको अभाव तथा लगानीको सुरक्षा प्रत्याभुती नहुँदा निजी लगानी भित्र्याउन नसकिएको उनको भनाइ छ । ठुला आयोजनाहरु होल्ड गरी राख्ने नीतिगत समस्या समाधान गरी ‘ट्रान्समिटर करिडोर’ निर्माणमा जोड दिनु पर्ने उनले बताइन् ।

नेपाल सरकारका पूर्वसचिव केशवकुमार शर्माले कर्णालीको भौगोलिक जटिलता र न्यून बजेटका कारण सडक निर्माण र स्तरोन्नतिमा ढिलाइ भएको बताए ।

‘२० प्रतिशत भूभाग ओगटेको कर्णालीमा सडकको दुरी अझै कम छ’ उनले भने, ‘भेरी करिडोर, कर्णाली करिडोर र मध्यपहाडी राजमार्गले केही जिल्लालाई जोडे पनि पर्याप्त छैन ।’

सुर्खेत–जुम्ला सडकको मर्मत र सुरक्षाका काम भइरहेका कारण दुर्घटनामा केही कमी आएको उनको दाबी छ ।
‘कर्णालीमा सडक विकास गरी आर्थिक गतिविधि चलायमान बनाउन सुरुङ मार्ग बिस्तार जरुरी भएको बताए । तर त्यसका लागि जनशक्ति र बजेट अभाव रहेको छ’ उनले भने ।

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले प्रविधिको पहुँच विस्तारका लागि पनि सडक र विद्युत् नै आधारभूत आवश्यकता भएको औल्याए । प्रविधिको पहुँच पु¥याउन गैरसरकारी संस्थाहरूसँग मिलेर डिजिटल साक्षरताका कामहरू गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्