राजनीनिती

फेसबुक स्टाटसमार्फत बचाउमा उत्रिए उपसचिव गौतम, ड्रोन विवादमा मौन

२३ बैशाख २०८३, बुधबार २३:३८

काठमाडौं । सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयमा खटिएका उपसचिव ई. खिमलाल गौतमले आफूविरुद्ध आएका समाचारप्रति फेसबुक स्टाटसमार्फत स्पष्टिकरण दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा वास्तविक अवस्था नबुझी आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक तथा कपोलकल्पित समाचार प्रसारण गरेको आरोप लगाए ।

उनले लेखेका छन्,‘म विगत दुई हप्तादेखि नेपाल सरकार, पर्यटन विभागको तर्फबाट सम्पर्क अधिकृतको रूपमा सगरमाथा आधारशिविरमा छु । तर, यसैबीच मेरो नाम जोडेर केही पेज र जिम्मेवार भनिएका मिडियाले वास्तविक फिल्डको अवस्था नबुझी, चरित्रहत्या गर्ने उद्देश्यले अनर्गल, भ्रामक तथा कपोलकल्पित समाचार प्रसारण गरेको सुन्दा गहिरो दुःख लागेको छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्प(सगरमाथा आधार शिविर)मा केहीदिन अघि अनुमति विना एक ड्रोन उद्घाटन गरेपछि उपसचिव गौतममाथि गम्भीर प्रश्न उठेको थियो ।

काठमाडौंदेखि सगरमाथाको फेदीसम्म पुग्दासम्म उक्त ड्रोन कसरी र कुन माध्यमबाट वा कुन संस्थाको सहजीकरणमा पुगेर उद्घाटन गरियो भन्ने गौतमले थाहा नपाएको विषय रहस्यमय बनेको भन्दै सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गरेपछि आज उनले सामाजिक सञ्जालमा स्टास्टस लेखे । उनको स्टाटस आफूमाथि उठेको गम्भीर प्रश्नको उत्तर दिने भन्दापनि अन्तरवार्ता नदिएको कारणले सञ्चारमाध्यमले षड्यन्त्रपूर्वक समाचार सम्प्रेषण गरिएकोप्रति लक्षित थियो ।

‘एउटालाई अन्तरवार्ता नदिएको कारणले मात्र मलाई लक्षित गरी यस्तो षड्यन्त्र गरिएको मैले स्पष्ट रूपमा बुझेको छु । आदरणीय पत्रकार बन्धूहरू, हाम्रो फिल्ड कार्यालयलाई दिइएको कार्यक्षेत्रगत सर्त एवम् पर्यटन नियामवली २०५९, र पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० मा रहेको कानूनी व्यवस्थाअनुसार अनुसार हामीले हरेक दिन विभागमा यहाँका घटनाहरू रिपोर्टिङ गरिरहेका हुन्छौं । हामी विभागको काममा सहजीकरण गर्न यहाँ रहेको हुँदा हामीलाई पर्यटन विभागको अनुमतिविना मिडियासँग बोल्ने अधिकार नरहेको व्यहोरा समेत स्पष्ट गर्न चाहन्छु,’उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्