Flash News

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२३ बैशाख २०८०, शनिबार ०९:१८

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भएको ठगीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार पनि भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही विषयमा कुराकानी गरेको प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुलाई बताएका छन् ।

‘अस्ति पनि उहाँको कन्सर्न थियो यही विषयमा । आज पनि यही विषयमा कन्सर्न राख्नुभयो । मैले जनरल कुरा राखेँ’ प्रचण्डले भने ।

गृह मन्त्रालयमा रहेको भुटानी शरणार्थीको नामावलीसम्बन्धी फाइल संशोधन गरेर नेपाली नागरिकको नाम समावेश गरेर अमेरिका पठाउने तयारी भइरहेको यस घटनामा संलग्नको आशंकामा पक्राउ परेकाहरुबाट खुलेको थियो ।

उक्त घटनामा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रायमाझीका छोरा सन्दीप, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परिसकेका छन् ।

यसअघि रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको भोलिपल्ट बिहीबार एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । त्यस क्रममा उनले पटक पटक मन्त्री भइसकेको र सांसद भइसकेको व्यक्तिलाई बाटोबाटै पक्राउ गर्नुनपर्ने प्रतिक्रिया दिएका थिए ।

ओलीसँग भेटपछि पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले नक्कली भुटानी शरणार्थीको घटनामा अनुसन्धान नरोकिने बताए। ‘…रोकिँदैन, प्रक्रिया र प्रचलित ऐन अनुसार दृढताका साथ अगाडि जान्छ। दोषी कोही नछुटुनस् निर्दाेष कोही नपरुन् भन्ने मान्यताबाट बोल्ड रुपमा अगाडि जान्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्