Flash News

हुँदै नभएको घटनामा मलाई संलग्न भयो भनियो: पूर्वगृहमन्त्री खाँण

२३ बैशाख २०८०, शनिबार ०९:४७

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली शरणार्थी प्रकरणमा आफू संलग्न नभएको र तथ्यहिन कुराहरू सञ्चारमाध्यममा आएको दाबी गरेका छन् ।

शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै खाँणले आधारहिन, तथ्यहिन र आफू संलग्न हुँदै नभएको घटनामा संलग्न भयो भन्दै समाचार आएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनुहुन अनुरोध छ ।’

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए । २०७८ असार २९ मा गृह मन्त्रालयको नेतृत्वमा आएलगत्तै खाँणले सचिवका रूपमा पाण्डेलाई ल्याएका थिए । त्यसअघि उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सचिव थिए ।

डेढ वर्ष गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन्। शरणार्थी समस्याको कुरामा मात्र होइन, दुलाल–भण्डारीको टोलीमा पनि उनी आएको उनीहरूको दाबी छ ।

२०७८ असार २९ देखि २०७९ पुस ११ सम्म गृहमन्त्री भएका खाँण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले पनि बताएका छन् । ‘कहिले शरणार्थी समस्याको कुरामा, कहिले यही दुलाल–भण्डारीको टोलीमा र कहिले भेला–बैठकमा उहाँ आउनुभएको हो, तर गिरोहसँगको काममा हो कि होइन भन्न सकिएन,’ झापा प्रशासनका एक अधिकारीले भनेका छन् । तर, यो लहरो तान्दा अझै एक दर्जन ‘हाई प्रोफाइल’ तानिने अनुसन्धानकर्मी अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्