Flash News

जल, जमिन, कृषि र उर्जालाई प्राथमिकतामा राख्नुपर्छ: सांसद थापा

२७ बैशाख २०८०, बुधबार ०२:०२

काठमाडौँ। प्रतिनिधिसभा सांसद अम्मर थापाले कृषि, जल, जमिन र उर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सरकारले बजेट तर्जुमा गर्नुपर्ने सुझाव दिएका छन्।

मंगलबार सरकारले प्रस्तुत गरेकाे आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो सुझाव दिएका हुन्। सांसद थापाले जनता गरिबीको रेखामूनि रहेसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्नेमा जोड दिएका छन्।

सरकारले प्रस्तुत गरेको आ.व २०८०/०८१ को सिद्धान्त र प्राथमिकतामाथि अर्धसहमति जनाएका सांसद थापाले भने, ‘जुन देशमा गरिबी छ, जुन देशमा रोजगारी छैन त्यो देश कसरी विकसित हुन्छ? हामी कृषिप्रधान देशका नारिक हौं भन्छौं। गरिबीको अन्त्य र रोजगारीको सिर्जना गर्नका निम्ति सरकारले कृषि क्षेत्रलाई बजेटको प्राथमिकतामा राख्नुपर्छ। गरिबी किसानहरूको पहिचान नगरेसम्म जतिसुकै वैज्ञानिक नारा दिएपनि केही हुनेवाला छैन। त्यस्ता नाराहरू आर्दश मात्रै हुन्छन्।’

उनले अगाडि भने, ‘आजसम्मका बजेटहरू वितरणमूखि छन्। रोजगारीको नाममा केही राजनीतिक नियुक्ति गर्ने काम मात्रै भएका छन्। विगतबाट पाठसिक्दै अब यो सरकारले गरिब वर्ग र किसानहरूको पहिचान गरेर अघि बढ्नुपर्छ। जबसम्म गरिब किसानहरूकाे जीवन माथि नउठाएसम्म देशको विकास हुँदैन।’

नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षसमेत रहेका सांसद थापाले वितरणमूखि योजना बनाएर राज्यको ढुकुटी माटामा मिलाउने काम भइरहेकाे बताए। उनले भने, ‘आज मुलुकमा १४ हजार सडकबाटो खोलिएका छन्। ति आवश्यक थिए? के आज हामीसँग ति सडकहरूको स्तरोन्नति गर्नसक्ने पूँजि छ? घाटी हेरेर हाड निल्नु पर्दैन? हामी भोटकाे राजनीतिक गर्न उद्दत छौं। वितरमूखी योजना र बजेटले हामी अगाडि होइन, पछाडि धकेलिन्छौं। यस बजेटमा गरिब किसानको उन्नति र प्रगतिका निम्ति ठोस् कार्यक्रम ल्याउन सक्नुपर्छ।’

साथै सांसद थापाले किसानको नाममा राज्यको ढुकुटीको दुरूपयोग भएकोतर्फ संकेत गर्दै गरिब किसानले प्रपोजल हालेर कहिले अनुदान पाउछन् ? भन्दै प्रश्नसमेत गरेका छन्। उनले भनेका छन्, ‘यहाँ जसले कागज मिलाउछ उसैले अनुदान लिन्छ। त्यो गरिब किसानले कसरी प्रपोजल लेख्छ? अनि कसरी अनुदान प्राप्त गर्छ? त्यसैले साना किसान, कमजोर वर्गको पहिचान गर्ने र राज्यले बजेटको ब्यबस्था गर्नुपर्छ। हामीले उत्पादन हुने ठाउँमा लगानी गरिरहेका छैनौं। उत्पादनका स्रोत र साधनहरूको उचित उपभोग गरेर राज्यको ढुकुटी निर्माण गर्ने काम हामीबाट भए? भएनन्। उल्टै भएको पनि रित्त्याउने काम गरिरहेका छौं।’

भोटको राजनीतिले स्थापित दलहरूको लोकप्रियता घट्दै गइरहेकाे स्मरण गराउँदै सांसद थापाले राज्यको ढुकुटी बलियो बनाउनका निम्ति कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन्। उनले भने, ‘यो देशको ढुकुटीलाई बलियो बनाउने हो भने कृषि, जल, जमिन, उर्जा र बनलाई प्राथमिकतामा राख्नुपर्छ। आम्दानी र उत्पादनको क्षेत्र मधेश हो। आज मधेशका जनता गरिबीको रेखामूनी छन्। त्यस्तै कृष, जल, जमिन र जंगलको धनी कर्णाली प्रदेश हो। कर्णाली प्रदेश पनि गरिबीकै रेखामूनी छ। आगामी बजेटमा मधेश र कर्णालीको विकास र समृद्धिलाई प्राथमिकतामा राखियोस्।’

प्रतिक्रिया दिनुहोस्