Flash News

जिउँदा शहीद मुकेश कायस्थको निधन

२८ बैशाख २०८०, बिहीबार ०१:०८

काभ्रे। दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधन भएको छ।

‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो। २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो। त्यतिबेला उनी १४ वर्षका थिए। सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो।

कायस्थको आज (विहीबार) अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए। बनेपा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए। दोस्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो। १७ वर्षको उमेर पुग्दासम्म पनि उनी अर्धचेत अवस्थामा थिए। निरन्तरको उपचारपछि वायाँ हात चलाउने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्ने भएका थिए।

२०७५ असारमा अचानक बिरामी परेपछि फेरि अर्धचेत भएका थिए। लामो समयदेखि शिर मेमोरियल अस्पतालमा उपचाररत कायस्थको बुधबार बेलुकी ७:३० बजे निधन भएको हो। सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि ६ हजार २ सय भत्ता र एकजना नर्स नियमित उपलब्ध गराउँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्