Flash News

बालकृष्णसँग मुञ्जुको कनेक्सनको खोजी

२८ बैशाख २०८०, बिहीबार १४:२८

काठमाडौँ। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिने नाममा नेपाली नागरिकलाई ठगेको घटनामा बालकृष्ण खाडकी पत्नी मञ्जु पनि संलग्न रहेको आशंका गरिएको छ।

बालकृष्णसँग मञ्जुको कनेक्सनको खोजीमा प्रहरी तीव्रताका साथ सक्रिय छ। तर, स्वतन्त्र तथ्यहरुबाट आशंका पुष्टि भएको छैन। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरुले त्यसबारे अनुसन्धान गरिरहेका छन्।

बालकृष्ण खाण २०७८ असार २९ देखी २०७९ पुस ११ सम्म गृहमन्त्री भए। सो अवधिमा गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायका अधिकृतहरुको सरुवा–बढुवा र प्रजिअहरुको सरुवामा बालकृष्ण पत्नी मञ्जु खाणको रजगज चल्थ्यो। खाणका स्वकीय सचिव नरेन्द्र केसी अहिलेसम्म प्रहरीमा सबैभन्दा धेरै हस्तक्षेप गर्ने ‘पिए’को रुपमा प्रहरी अधिकारीहरु सम्झन्छन्।

मञ्जु नेपाली कांग्रेसकी केन्द्रीय सदस्य र समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छिन्। भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहका सदस्यहरूले चाहिँ मञ्जुबारे ‘अडियो कुराकानी’ गरेका छन्।

अमेरिका जाने आशामा पैसा बुझाएका एक पीडित र दाङका सन्देश शर्माको बीचमा भएको अडियो कुराकानी प्रहरीले फेला पारेको छ। पीडितसँग सन्देश शर्माले भनेका छन्,‘बालकृष्ण खाणलाई पैसा बुझाएको छु, मञ्जु दिदिलाई हनुमानस्थानस्थित घरमा लगेर पैसा बुझाएको हुँ मसँग रेकर्ड छ।’

सन्देशलाई प्रहरीले २०७९ चैत २९ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अडियोमा पीडितले अमेरिकामा मान्छे पठाउन नसके रकम फिर्ता माग्दा शर्मा भन्छन्,‘गरिदिने मान्छेलाई पैसा दिएका छौं, समिति बनाउने बार्गेनिङ गरेर हामीसँग नै खाइरहेका छन्, नियतवश प्रमुख जिल्ला अधिकारीको सरुवा गरेर काम लम्ब्याउन खोजिँदै छ।’

प्रतिक्रिया दिनुहोस्