Flash News

एमाले केन्द्रीय कमिटीमा आज समूहगत छलफल

२९ बैशाख २०८०, शुक्रबार ०१:३२

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुँदैछ।

बिहीबारबाट सुरु केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए।

आज बिहान ८ बजेदेखि सरु हुने बैठकमा ती प्रतिवेदनहरुमाथि समूहगत छलफल सुरु हुने महासचिव शंकर पोखरेलले जानकारी दिए।प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ।

समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने महासचिव पोखरेलले जानकारी दिए।

समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझावहरु प्रस्तुत गर्ने छन्। त्यसका लागि हरेक अध्यक्षहरुलाई १० मिनेटको समय उपलब्ध गराइएको छ। ‘१० मिनेटको समयमा समूहगत छलफलबाट आएका कार्ययोजनाको प्रस्ताव प्रस्तुत गर्नुपर्ने छ,’ महासचिव पोखरेलले भने।

त्यसपछि आजै स्थायी कमिटीको बैठक बस्ने छ। प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ।

त्यो कार्ययोजनाको प्रस्ताव तयार पारिसकेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ। केन्द्रीय समितिको बैठकबाट कार्ययोजनाको प्रस्ताव पारित गरिने छ। त्यसपछि समसामयिक प्रस्तावहरु पारित गरेर अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने छन् र यही वैशाख ३० गते केन्द्रीय समिति बैठक सम्पन्न गर्ने एमालेको कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस्