Flash News

ओलीद्वारा कार्यकर्तालाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन

३१ बैशाख २०८०, आईतवार ०२:४९

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गरे ।

‘दुई चार जनाले हिन्दु राज्य भन्छन्, उनीहरुकै कुरा मानेर हिंड्ने होइन । पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान दिनुपर्छ’, ओलीले बैठकमा भनेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष ओलीले अब मुलुक हिन्दु राज्यतिर नफर्कने पनि प्रष्ट पारे । ‘मुलुक अब पछाडि फर्कंदैन, यसतर्फ ध्यान दिनुपर्छ’ ओलीलाई उद्धृत गर्दै एक नेताले भने ।

राज्यको कुनै धर्म नहुने र सबै धर्मावलम्बीहरुको मुलुक भएको पनि उनले बताए । ‘देशमा हिन्दु धर्म मान्ने बहुसंख्यक छन्, यो धर्म असहिष्णु छैन, यसलाई मान्नुपर्छ । तर, अब पछाडि फर्कन सकिंदैन’ ओलीले भनेका थिए । अध्यक्ष ओलीले भारतको समेत उदाहरण दिए । ‘नामै हिन्दुस्थान भएको भारत हिन्दु राज्य होइन, धर्मनिरपेक्ष देश हो’, ओलीले भनेका थिए ।

संघीयताबारे पुनर्विचार गर्न सकिन्न

 नेकपा एमालेले संघीयताका विषयमा पुनर्विचार नगर्ने बताएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताएका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

‘हिजो देखि एउटा हल्ला चलाइएको छ–नेकपा एमालेका चालू केन्द्रीय कमिटी बैठकमा संघीयताका बारेमा बहस सुरु भयो । नेकपा एमालेले संघीयतामा पुनर्विचार गर्ने भयो । अब नेकपा एमालेको संघीयता नमान्ने भयो भन्नेजस्ता जुन खालका गलत हल्लाहरु चलेका छन् । यिनलाई अध्यक्ष कमरेडले सम्पूर्ण रुपमा खारेज गर्नुभएको छ’ उनले न्यूज एजेन्सी नेपालसँग भने ।

शुक्रबार एमाले केन्द्रीय कमिटी बैठकमा बोलेका गोकुल बास्कोटा, महेश बस्नेत लगायतका नेताहरुले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखेका थिए । तर प्रचार विभाग उपप्रमुख रिजालले केन्द्रीय कमिटी बैठकमा संघीयताको विषय छलफलको एजेण्डा नभएको बताए ।

‘हाम्रो पार्टीको बैठक निश्चित एजेण्डाका आधारमा अगाडि बढेको छ । संघीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । र, संघीयताको बारेमा हाम्रो पार्टीमा कुनै छलफल पनि भएको छैन । कुनै साथीहरुले समूहमा उभिँदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय हो जस्तो गरी जुन ढंगले प्रचार गरिएको छ । यो गलत छ । अध्यक्ष कमरेडले यसको आलोचना गर्नुभएको छ’ रिजालले भने ।

एमाले संविधान निर्माता पार्टी हो भन्दै रिजालले संविधानलाई हल्लाउने, संविधानको पिल्लरहरुलाई चलाउने काम एमालेबाट नहुने बताए ।

‘यो कुरा हाम्रो पार्टीको अध्यक्ष कमरेडले आज बहुत स्पष्ट ढंगले पार्टीको केन्द्रीय कमिटी बैठकमा निर्देशन गर्नुभएको छ । र, सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई केन्द्रीय कमिटीका आधिकारिक निर्णयहरु बोकेर जान आग्रह गर्नुभएको छ’ रिजालले भने ।

प्रतिक्रिया दिनुहोस्