Flash News

पूर्वउपप्रधानमन्त्री रायमाझीको लज्जित ओहदा

१ जेष्ठ २०८०, सोमबार ०२:३७

काठमाडौँ। नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन गरिएको अपराधका आरोपित पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी अन्ततःपक्राउ परेका छन्।

अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि फरार उनले बिरामी परेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए। तर, उनी भागेको १२औं दिनमा राजधानीको बुढानीलकण्ठस्थित एक मित्रको घरबाट पक्राउ परेका छन्।

अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँछु भनेका रायमाझी त्यही राति बाटोबाटै गायब भएका थिए। छोरा सन्दीप भने त्यही साँझ बुटवलबाट पक्राउ परेका थिए। काठमाडौंको सट्टा उनी पोखरा पुगेको प्रहरीका एक अधिकारीको भनाइ छ।

‘पोखरामा गोप्य बासस्थानको प्रबन्ध मिलाएका उनका एक हितैषी दक्षिण सीमापार भागेका थिए। ती व्यक्ति उतै निगरानीमा परेपछि रायमाझी लुकेको ठाउँको पहिचान खुलेको थियो,’ ती अधिकारी भन्छन्, ‘तर, प्रहरी टोली शनिबार पोखरा पुग्दा रायमाझी त्यहाँबाट हिँडिसकेको पत्ता लाग्यो । उनी निगरानीमा रहेकाले आइतबार पासीकोटस्थित एक घरमा छापा हानेर पक्राउ गर्न सम्भव भएको हो ।’ रायमाझीलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ, सोमबार अदालतमा उपस्थित गराउने तयारी छ।

नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा पक्राउ परेका रायमाझी राजनीतिक पृष्ठभूमिका हिसाबले सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । अखिल छैटौंबाट राजनीति सुरु गरेका उनी चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका थिए।

२०४८ मा संयुक्त जनमोर्चाबाट अर्घाखाँची–१ मा उम्मेदवारी दिएका उनी २०५२ बाट माओवादी सशस्त्र द्वन्द्वमा लागेका थिए, २०५४ मा माओवादी पोलिटब्युरो सदस्य बने। भूमिगतकालमा भारत प्रवास कमिटीको दुई पटक इन्चार्ज भएका उनी सशस्त्र युद्ध उत्कर्षमा पुगेका बेला २०६१६२ मा पश्चिम कमान्ड इन्चार्ज भए। उनको निर्देशनमा सन्धिखर्क, बेनीलगायत आक्रमण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्