Flash News

‘देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ’

१ जेष्ठ २०८०, सोमबार १३:२६

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा व्यवस्था र अवस्था आधा मात्रै बदलिएको टिप्पणी गरेका छन्।

सोमबार विद्यार्थी दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेपालले सिङ्गै व्यवस्थालाई रूपान्तरण गरेर अवस्था परिवर्तनमा लाग्नुपर्ने बताए। ‘देशको व्यवस्था र अवस्था आधा मात्रै बदलिएको छ। व्यवस्था र अवस्थामा धेरै बदल्न बाँकी छ। सिङ्गो व्यवस्थालाई रूपान्तरण गर्न खाँचो छ। अनि मात्रै अवस्थामा परिवर्तन गर्न सक्छौँ’ नेपालले भने, ‘अर्को भाष्य छ निर्वाचनदेखि निर्वाचनसम्म मात्रै भयो। एउटा चुनावदेखि चुनावसम्म अर्को जनतादेखि जनतासम्मको व्यवस्था छ। हामी कम्युनिस्टहरू जनताको सेवामा समर्पित हुने र जनताको हित र कल्याणमा लागि रहने हो।’

कम्युनिस्टहरू जनतामा लाग्नुको मतलब जनताको चेतना निर्माणमा दृढ भई लाग्नुपर्ने नेपालले बताए। ‘हाम्रो जनता बाहेक अर्थोक कुनै राजनीति छैन। कम्युनिस्ट बाहेक अरूले राम्रो गर्न सक्दैनन्। अब देशमा निराशा बढेको छ त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता छ’ नेपालले भने।

प्रतिक्रिया दिनुहोस्