राजनीनिती

बेलायतले युक्रेनलाई कति शक्तिशाली हतियार दिइरहेको छ ?

२ जेष्ठ २०८०, मंगलवार १३:०९

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग द्विपक्षीय भेटवार्ताका लागि बेलायतको भ्रमणमा छन् ।

युक्रेनी राष्ट्रपतिको यो भ्रमण रुसी सेनामाथि युक्रेनको सम्भावित जवाफी आक्रमण सुरु हुनु अगाडि भएको हो । युक्रेनले आगामी केही हप्ताभित्रै रुसमाथि जवाफी आक्रमण सुरु गर्नसक्ने बताइएको छ ।

युक्रेन युद्धको सुरुवातदेखि नै युक्रेनलाई हतियार उपलब्ध गराउने मुलुकहरुमा बेलायत पनि रहेको छ । यद्यपि अमेरिकाको तुलनामा बेलायतले निकै कममात्रै हतियार युक्रेनलाई दिएको छ । आखिर बेलायतले युक्रेनलाई कुन कुन हतियार पठाइरहेको छ र युद्धमा यसको असर के भैरहेको छ ?

लामो दूरीका मिसाइल

युक्रेनलाई लामो दूरीका मिसाइल दिन लागेको कुराको पुष्टि बेलायतले यसै महिनामात्रै गरेको हो । त्यसमध्ये स्टोर्म शेडो क्रूज मिसाइलले साढे २ सय किलोमिटर सम्म मार हान्न सक्दछ । त्यस्तै अमेरिकाले युक्रेनमा पठाएको हिमार मिसाइलले चाहिँ केवल ८० किलोमिटरको दूरीमा मात्रै हमला गर्न सक्दछ ।

बेलायतले प्रदान गर्ने उक्त मिसाइल युक्रेनमा हालसम्म उपलब्ध मिसाइलमध्ये सबैभन्दा धेरै मारक क्षमता तथा दूरी भएको मिसाइल हो । यसलाई विमानबाट मार हानिन्छ भने तल्लो सतहमा उडेर यसले राडारलाई नै चक्मा दिन सक्दछ । योसँगै युक्रेनलाई क्रूज मिसाइल दिने पहिलो राष्ट्र बन्नेछ बेलायत ।

यो मिसाइलबाट युक्रेनले रुसका ती क्षेत्रहरुमा समेत आक्रमण गर्न सक्नेछ जसलाई रुसले हालसम्म सुरक्षित मानेको थियो ।तर रुसले भने ती मिसाइलहरु यसअघि पनि आफ्नो सैन्यबलविरुद्ध प्रयोग भैसकेको दाबी गरेको छ ।

ट्यांक

बेलायतले नेटोको मापदण्डमा खरो उत्रिएको प्रमुख युद्धक ट्यांक युक्रेन पठाउँदैछ । युक्रेनलाई यस्तो सहयोग गर्ने जर्मनी पहिलो मुलुक हो ।गत जनवरीमा बेलायतले युक्रेनलाई १४ वटा च्यालेन्जर ट्यांक प्रदान गर्ने घोषणा गरेको थियो । त्यो सँगै युक्रेनलाई ३० एएस ९० सेल्फ प्रोपेल्ड तोप प्रदान गर्ने घोषणा पनि बेलायतको थियो ।

च्यालेन्जर २ ट्यांकको निर्माण सन् १९९० को दशकमा भएको थियो । तर यो वार्सा सन्धिवापत युक्रेनलाई प्राप्त भएको जमिनको टुक्रामध्ये निकै आधुनिक तथा प्रभावशाली रहेको छ ।

बेलायती घोषणा पश्चात् अन्य विभिन्न देशहरुले समेत युक्रेनमा सेना पठाउने बताएका थिए । यसैक्रममा जर्मनीले आफ्नो लेपर्ड २ ट्यांक युक्रेन पठाउने घोषणा गरेको थियो ।

कतिपय सैन्य विश्लेषकहरुका अनुसार यदि उल्लेखित ट्यांकहरुलाई अन्य हतियार प्रणालीसँगको समन्वयमा प्रयोग गरियो भने रुसी सेनालाई सुरक्षित स्थानहरुबाट पछाडि खेद्ने युक्रेनको प्रयासमा महत्वपूर्ण सावित हुनसक्छ ।

ड्रोन

युक्रेनमा सैन्य आक्रामक ड्रोन तथा एयर डिफन्स मिसाइल पठाउन लागेको बेलायती प्रधानमन्त्रीको कार्यालयले सोमबार बताएको छ । तर, विज्ञप्तिमा कुन प्रकारको ड्रोन युक्रेन पठाइँदैछ भन्नेचाहिँ खुलाइएको छैन । तथापि उक्त ड्रोनको रेन्ज २ सय किलोमिटर भन्दा धेरै हुने जानकारी दिइएको छ ।

रुसको सुरक्षापंक्तिभित्र बन्दोबस्तीका सामानहरुको भण्डार तथा नियन्त्रण केन्द्रहरुलाई निसाना बनाउनका लागि ती ड्रोनहरुको प्रयोग गर्न सकिने आँकलन गरिएको छ ।

सन् २०२२ मा बेलायती रक्षा मन्त्रालयले युक्रेनलाई हेभी लिफ्ट ड्रोन सिस्टम प्रदान गर्ने घोषणा गरेको थियो । भारी सामान उठाउन सक्ने यो ड्रोनले युद्धका क्रममा अलग थलग भएको सैन्य बल समक्ष बन्दोबन्दी सहायता पूराउन सक्दछ ।

विश्लेषकहरुका अनुसार यो ड्रोन अन्तिम पंक्तिका सैनिकदेखि लिएर अग्रपंक्तिका सैनिकहरुसम्म बन्दोवस्तीका सामानको आपूर्तिमा निकै प्रभावकारी सावित हुनसक्छ । खासगरी ती युक्रेनी सैनिकका लागि यो सहयोगी हुनसक्छ जो लगातार रुसतर्फबाट बमबारीको सामना गरिरहेका छन् र यस्तै चारैतर्फबाट घेरिएको परिस्थितिमा छन् ।

रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटमा आबद्ध जस्टिन ब्रंक भन्छन्- सैनिकलाई ठूलो मात्रामा सामानको आवश्यकता पर्दछ । हरेक पटक जब तपाईंले सैनिकहरु सम्म सामान पुर्‍याउनका लागि ड्रोनको प्रयोग गर्नुहुन्छ त्यसले सैनिकमाथिको खतरा कम हुन्छ ।

रकेट सिस्टम

बेलायतले सन् २०२२ मा युक्रेनलाई मल्टिबल लञ्च रकेट सिस्टम एम २७० सँगै एम ३१ ए १ प्रेसिजन हतियार प्रदान गरकेो पुुष्टि गरेको थियो ।

बेलायतको एम २७० सिस्टम अमेरिकाको हिमार्स लञ्चर सिस्टम जस्तै हो । ज्याक वाटलिंगका अुनसार वास्तवमा युक्रेनलाई यस्तै हतियार प्रणालीको आवश्यकता छ । यसको सहयोगमा युक्रेनले रुसका हतियारखानालाई टक्कर दिनसक्दछ र सटिक रुपमा मारक हमला गर्न सक्दछ ।

एन्टी ट्यांक हतियार

बेलायतले युक्रेनलाई ५ हजार भन्दा धेरै नयाँ पुस्ताको एन्टी ट्यांक हतियार एनल दिएको छ । एनल हतियारलाई कम दूरीबाटै एकै आक्रमणमा ट्यांकलाई नष्ट गर्नका लागि विकशित गरिएको हो ।

युक्रेनी सेनाहरुलाई तुरुन्तै हतियारको आवश्यकता भएकाले यस्ता हतियार उनीहरुका लािग निकै अहम् छन् । यी मिसाइल प्रयोग गर्नमा सरल छन् र सजिलैसँग यताउति लैजान सकिन्छ ।

कुनैपनि सैनिकलाई एक दिनभन्दा कम समयमै यसको प्रयोग गर्न सिकाउन सकिन्छ । कतिपय विश्लेषकहरुका अनुसार रुसी हमलाको सुरुवाती दिनमा खासगरी रुसी सेनाको जमिनबाट गरेका आक्रमणलाई निस्तेज पार्नका लागि यी हतियारहरु निकै प्रभावशाली रहे ।

कम दूरीका मिसाइल

बेलायतले सन् २०२२ मा नौसेनाले प्रयोग गर्ने बि्रमस्स्टोन मिसाइलहरु युक्रेनलाई दिएको थियो । अमेरिकी नौसेनासँगै बसेका क्याप्टेन क्रिस कार्लसनका अनुसार बि्रमस्टोनको प्रयोग ट्यांकको विरुद्धमा गर्न सकिन्छ ।

साथै स-साना जहाजमाथि आक्रमण गर्न पनि यसको प्रयोग हुन्छ। आमरुपमा यी मिसाइललाई विमानबाटै प्रहार गरिन्छ । तर युक्रेनमा भने त्यसमा परिवर्तन गरी ट्यांकबाटै पनि प्रहार गरिएको छ।

कार्लसनका अनुसार जमिनबाट प्रहार गर्दा यसको मारक दूरी कम हुन्छ। विमानबाट प्रहार गर्दाचाहिं यसले ठूला जहाजमा पनि क्षति पुर्‍याउने क्षमता राख्दछ।

बख्तरबन्द गाडी

बेलायतले कम्तिमा पनि १२० बख्तरबन्द गाडीहरू पनि युक्रेन पठाइसकेको छ। यसमा मस्टिफ पेट्रोल भेहिकल पनि रहेको छ।अफगानिस्तानमा यो बख्तरबन्द गाडी बेलायती सैनिकमाझ निकै लोकप्रिय थियो। किनकि यसले बारुदी सुरुंग तथा आइइडी हमलाका विरुद्धमा प्रभावकारी सुरक्षा प्रदान गर्दछ।

विश्लेषकका अनुसार युक्रेनको डोनबास लगायतका क्षेत्रहरु जहाँ बारुदी सुरुंगहरु रहेका छन् त्यहाँ यो बख्तरबन्द गाडी निकै उपयोगी हुनसक्छ । दुवै पक्षले युक्रेन युद्धका क्रममा ठूलो परिमाणमा बारुदी सुरुंगको प्रयोग गरेका छन् र ठूलो परिमाणमा बारुद बिछ्याएका छन् ।

एयर डिफेन्स सिस्टम

युक्रेनलाई स्टारस्ट्राइक मिसाइल लगायतका विभिन्न ६ वटा एयर डिफेन्स सिस्टम प्रदान गरेको बेलायतले जनाएको छ । स्टारस्ट्राइकक मिसाइलबाट कम उचाइँमा उडान भरिरहेका विमानलाई छोटो दूरीबाटै प्रहार गरेर खसाउन सकिनछ ।

कतिपय विमानले फ्लेयर तथा शफजस्ता मिसाइल प्रतिरोधी सिस्टम प्रयोग गर्दछन् । यस्ता विमानहरु चाहीँ स्टारस्ट्राइक मिसाइललाई छक्काउन सफल हुन्छन् ।

ब्रांकका अनुसार पाइलटको दृष्टिकोणबाट हेर्दा स्टारस्ट्राइक मिसाइल निकै घातक हुन्छन् । यी मिसाइलकै कारण रुसी सेनाले आफ्ना धेरै अभियानमा भारी जोखिमको सामना गर्नुपर्ने हुनसक्छ । स्टारस्ट्राइक मिसाइलका लागि मोबाइल प्लाटर्फमको रुपमा प्रयोग हुने स्टर्मर भेहिकल सिस्टम पनि बेलायतले युक्रेनलाई प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्