Flash News

पासाङ ल्हामुका श्रीमानले गरे सगरमाथाको आरोहण

३ जेष्ठ २०८०, बुधबार १०:३२

काठमाडौँ। राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन्।

शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङका अनुसार उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका हुन्। थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड समेत राखेका छन्। उनी आफ्नो धर्मपत्नी पासाङ ल्हामुले सगरमाथाको चुचुरो चुम्दै रेकर्ड राखेको ३० वर्षपछि सगरमाथा चढेका हुन्।

१० वैशाख २०५० का दिन पासाङ ल्हामुले सगरमाथा आरोहण गर्दै नेपालको पहिलो महिला आरोही बनेकी थिइन्। सो बेला श्रीमान सोनाम समेत सँगै थिए। तर, उनी क्याम्प २ भन्दा माथि जान सकेका थिएनन्। सोही दिन आरोहण पुरा गरी आधार शिविर फर्कने क्रममा पासाङ ल्हामु शेर्पाको निधन भएको थियो। थामशेर्कु ट्रेकिङले सोनाम आधार शिविरतर्फ फर्किरहेको समेत जनाएको छ। सोनाम यती समूहका समेत अध्यक्ष हुन्। यती एयरलाइन्ससहित पर्यटनसँग सम्बन्धित विविध व्यवसायमा यो समूहले लगानी गरिरहेको छ।

सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण गरी सेभेन समिट आरोहण पुरा गरेका छन्। विश्वका सातवटा महाद्विपका सातवटा चुचुराको आरोहणलाई सेभेन समिटका नामले चिनिन्छ।

यसअघि शेर्पाले छ वटा महादेशका चुचुराहरुको सफलता पूर्वक आरोहण गरेका थिए । उनले जनवरी ११, २०१६ मा अफ्रिकाको माउन्ट किलिमन्जारो ९५,८९५ मि, अगष्ट २५, २०१६ मा युरोपको माउन्ट एल्ब्रस ९५,६४२ मि, नोभेम्बर १५, २०१६ मा ओसिनियाको माउन्ट पुनककरमाउन्ट कार्सटेन्ज ९४,८८४ मि०, जुलाई ०७, २०१७ मा उत्तर अमेरिकाको डेनाली ९६,१९५ मि, डिसेम्बर १४, २०१७ मा अन्टार्कटिकाको माउन्ट भिन्सन ९४,८९७ मि र जनवरी २४, २०२२ मा दक्षिण अमेरिकाको एकोनवागुआ ९६,९६१ मि हिमालको आरोहण गरेका थिए ।

६४ वर्षीय शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । सगरमाथा आरोहणका लागी शेर्पा अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए। ल्हाक्पा सोनाम शेर्पासँगै जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनीले पनि सफलता पूर्वक आरोहण सम्पन्न गरेका छन् ।

झण्डै ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले ८००० भन्दा बढी आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराइसकेका छन् । थामसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्ष समेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा पनि संलग्न छन् । उनले युरोपको माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम, धौलागिरि हिमाल र थामसेर्कु हिमालको आरोहण पनि गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्