Flash News

प्रधानमन्त्री प्रचण्ड र सांसदबीच संसदमा सवाल-जवाफ

४ जेष्ठ २०८०, बिहीबार १५:४७

काठमाडौं। बिहीबारको प्रतिनिधिसभा बैठकको दृश्य अन्य दिनको भन्दा फरक थियो।

बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जना सांसदले प्रश्न गरे भने प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर उनीहरुले सोधेका प्रश्नको जवाफ फटाफट दिए ।

खासगरी सांसदहरुले मुलुकका जल्दाबल्दा विषयमा संसदमार्फत प्रधानमन्त्रीको जवाफ माग्ने प्रयास गरे । सांसदहरुले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान, नागरिकता विधेयक, माओवादीका लडाकु शिविरमा भएको भ्रष्टाचार, नेपाली भूमि लिपुलेक फिर्ता गर्न सरकारले गरेको प्रयास लगायतका बारे प्रश्न गरेका थिए । कैलालीको टीकापुर घटना, शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय, मुलुकको बिग्रदो अर्थतन्त्र सुधारमा सरकारको प्रयास, किसानले भोग्ने मलबिउको समस्या र शिक्षाका नाममा नेपाली पैसा विदेशिनबाट रोक्ने उपाय लगायतका विषयमा सांसदले गरेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएका छन् ।

प्रश्नकर्ता अधिकांश सांसदले भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनमा कुनै हस्तक्षेप नगर्ने बताए। ‘नेपाल प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन । हस्तक्षेप गरिने छैन र हस्तक्षेप हुन दिइने पनि छैन’, प्रधानमन्त्रीको जवाफ छ ।

सांसदहरुले गरेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्रीले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुङ्गो लगाउने समेत बताए । उनले दरबार हत्याकाण्डदेखि मदन भण्डारीको हत्याकाण्ड समेत नयाँ शिराबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले यस वर्ष किसानहरुलाई समयमै मल उपलब्ध गराउन सरकार प्रयासरत रहेको भन्दै मल आयातका लागि भारतसँग सम्झौता भइसकेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्