Flash News

सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाए

६ जेष्ठ २०८०, शनिबार ०६:२६

काठमाडौँ। यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन्।

शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ११ जना पुगेको हो। मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परे पछि आधार शिविर ल्याइएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो। अर्का एक जनाको भने पहिचान खुल्न बाँकी छ।

सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिएका छन्। ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्’ उनले सञ्चारकर्मीसँग भने।

सगरमाथा आरोहण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ४ सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिपोट तयारी गरिँदै गरेको पर्यटन बोर्डले जनाएको छ । यस सिजनमा कामरिता शेर्पाले २७ औँ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्