Flash News

मदन राईविरुद्ध दोस्रोपटक म्याद थप

६ जेष्ठ २०८०, शनिबार ०७:२९
काठमाडौँ। बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ ९शुभम० का संस्थापक मदन राईविरुद्ध दोस्रोपटक म्याद थप गरिएको छ।

खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार राईविरुद्ध जिल्ला अदालतबाट शुक्रबार थप ८ दिन म्याद लिइएको हो। यसअघि प्रहरीले गत आइतबार ७ दिनको म्याद पाएको थियो।

‘अनुसन्धान जारी छ’, प्रहरी निरीक्षक कार्कीले शनिबार बिहान भने, ‘प्रमाण जुटाउने काम भइरहेको छ।’

शुभम फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको आरोपमा ७५ वर्षीय राईविरुद्ध गत वैशाख २९ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि त्यही दिन खोटाङ प्रहरीले राईलाई पक्राउ गरेको थियो।

आरोपित राई जिल्ला प्रहरी कार्यालय ९खोटाङ० को हिरासतमा छन्। जाहेरी दिने किशोरी भने काठमाडौंमै एक सामाजिक संस्थाको संरक्षणमा छिन्।

जाहेरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन्।

यसअघि मदनले फाउन्डेसनमा राखिएका बालबालिकालाई लामो समयदेखि यौन दुर्व्यवहार गर्ने गरेको घटना सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।

दिक्तेलस्थित जाल्पा माध्यमिक विद्यालयको सहमति लिएर नौ वर्षअघि मदनले खोलेको उक्त फाउन्डेसनमा होस्टेल बनाएर बालबालिका राख्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्