Flash News

‘भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासको बाटोमा लैजान सकिँदैन’

७ जेष्ठ २०८०, आईतवार ०२:१७

धनुषा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहोरयाउन कठिन हुने बताएका छन् ।

 शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गरे ।

उनले भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने जोड दिए । अध्यक्ष नेपालले भने, ‘सरकारले मुलुकमा सुशासन कायम गर्नका लागि कदम उठाइरहेको छ । यो राम्रो विषय हो । नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’

फरक प्रसंगमा उनले मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेका बेला जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको खुलासा गरे । अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि आफूहरु लागिपरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्