राजनीनिती

संक्रमणकालीन न्यायसँग एमालेको पूर्ण समर्थन रहनेछ: प्रदीप ज्ञवाली

७ जेष्ठ २०८०, आईतवार १४:०५

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ । केही दिनअघि संसदको विषयगत समितिमा पनि गइसकेको छ’ उनले भने, ‘म आशा गर्छु छिटो भन्दा छिटो टुंगिन सकोस्, अरु विषयमा हामी प्रतिपक्ष हौँला । धेरै कुरामा हाम्रा असहमतिहरु होलान्, तर संक्रमणकालीन न्याय टुंग्याउने कुरामा पूर्ण समर्थन रहनेछ ।’

उनले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताए । उनले अन्य कुराहरुमा सत्तापक्षसँग आफ्ना विभिन्न असहमतिहरु भएपनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने स्पष्ट पारे । ज्ञवालीले भने, ‘यो विधेयक टुंग्याउँदा दलहरुको बीचको परामर्शलाई पर्याप्त बनाउनुहोस् तर सबैभन्दा ठूलो कुरा यहाँ अघि बसेका पीडितहरुको न्याय हुनुपर्छ । उहाँहरुको परामर्शमा ल्याएर मात्रै न्याय दिनेगरी ल्याइयोस् ।’

उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्नेकुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्